मधेशसमाचार

बारा–२ मा जनअधिकार पार्टीका उम्मेदवार अमरेश कुमार पाण्डेयको घरदैलो अभियान तीव्र

बारा , २० माघ

बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनअधिकार पार्टीबाट उम्मेदवारी दिएका अमरेश कुमार पाण्डेय निरन्तर घरदैलो तथा जनसम्पर्क अभियानमा सक्रिय देखिएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उनी क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाउने प्रयासमा जुटेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेयले स्थानीयवासीका समस्या, गुनासा र अपेक्षा सुन्दै जनअधिकार पार्टीको नीति, सिद्धान्त तथा आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराइरहेका छन्। उनले विगतदेखि नै जनअधिकार, सामाजिक न्याय र सुशासनका पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न निर्वाचनमा विजयी हुनु आवश्यक रहेको बताए।

पाण्डेयले शिक्षा, स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना, किसान तथा श्रमिकका अधिकार, र आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको जनाउँदै जनताको हितमा इमान्दार रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले “जनताको अधिकार सुरक्षित गर्न र राज्यको ध्यान उपेक्षित वर्गतर्फ केन्द्रित गराउन जनअधिकार पार्टीलाई अवसर दिनु आवश्यक छ,” भन्दै मतदातासँग आग्रह गरेका छन्।

स्थानीय मतदाताहरूले उम्मेदवार पाण्डेयको निरन्तर जनसम्पर्क र सरल व्यवहारको प्रशंसा गर्दै जनताका मुद्दा संसदमा पुर्‍याउने क्षमतावान उम्मेदवारको रूपमा हेर्न थालेको प्रतिक्रिया दिएका छन्। विशेषगरी युवा तथा आम सर्वसाधारणको उल्लेख्य सहभागिताले घरदैलो कार्यक्रम थप उत्साहपूर्ण बनेको छ।

चुनावी सरगर्मी बढ्दै गएको बारा–२ मा अमरेश कुमार पाण्डेयको घरदैलो अभियानले राजनीतिक माहोललाई थप तातिएको छ। आगामी निर्वाचनमा उनको अभियानले कस्तो परिणाम ल्याउने भन्ने चासो मतदाता तथा राजनीतिक वृत्तमा बढ्दै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button