लिखित परीक्षामा अनियमितता : ३ उम्मेदवारको परीक्षा रद्द, एक वर्षका लागि परीक्षामा रोक

14

बारा, २० माघ

बारागढी गाउँपालिकाले स्वयम्‌सेवक शिक्षक छनोटका लागि लिइएको लिखित परीक्षामा अनियमितता गरेको ठहर गर्दै ३ जना उम्मेदवारको परीक्षा रद्द गरेको छ । साथै ती उम्मेदवारहरूलाई एक वर्षसम्म गाउँपालिकाबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ ।

बारागढी गाउँ कार्यपालिकाको कार्यालय, खोपवाद्वारा प्रकाशित सूचनाअनुसार २०८१/१२/०८ गते प्रकाशित विज्ञापन नं. ०१/०८१/०८२ अनुसार प्राथमिक तहको लिखित परीक्षामा सहभागी रोल नं. १०१००८ का उम्मेदवार मिनका कुमार चौधरी (स्थायी ठेगाना करैयामाई–७, तियरटोल) र रोल नं. १०१०१४ का उम्मेदवार जितनी साह (स्थायी ठेगाना बारागढी–२, दौर्वा)ले मूल उत्तरपुस्तिका बाहेक अन्य पानामा लेखेको पाइएको थियो ।

त्यस्तै, निम्न माध्यमिक तहका लागि दोस्रो पटक प्रकाशित विज्ञापन नं. ०७/०८१/०८२ अनुसार लिइएको लिखित परीक्षामा रोल नं. १०२००३ का उम्मेदवार सञ्जय प्रसाद चौधरी (स्थायी ठेगाना बारागढी–१, बुढगाई)ले परीक्षामा शंकास्पद गतिविधि गरेको शिक्षा परीक्षा छानबिन प्रतिवेदन २०८२ ले देखाएको सूचनामा उल्लेख छ ।

छानबिन समितिको प्रतिवेदनका आधारमा बारागढी गाउँपालिकाले ती सबै उम्मेदवारहरूको उक्त परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म गाउँपालिका बाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको हो ।

गाउँपालिकाले परीक्षाको स्वच्छता, मर्यादा र निष्पक्षता कायम गर्न कडाइका साथ नियम लागू गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत मकेश कुमार मिश्रले दिएका छन् ।

Leave A Reply

Your email address will not be published.