कलैया, २० माघ
बारा निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलका उम्मेदवारहरू घरदैलो तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन्। जनमत पार्टीका उम्मेदवार प्रमोद साह, जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामबाबु यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर अरबिन्द साह चुनावी मैदानमा सक्रिय रूपमा उत्रिएका छन्।
जेनजी आन्दोलनको पृष्ठभूमिमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका यी उम्मेदवारहरू आ–आफ्ना क्षेत्रमा मतदाताको घरदैलो गर्दै समर्थन मागिरहेका छन्। यही क्रममा सोमबार बिहान जनमत पार्टीका उम्मेदवार प्रमोद साह कलैया उपमहानगरपालिका–१४ स्थित बघवन टोलमा घरदैलो कार्यक्रममा सहभागी भए। त्यस्तै, जसपा पार्टीका उम्मेदवार रामबाबु यादव जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–१२ फत्तेपुरमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै देखिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर अरबिन्द साहले भने कलैया उपमहानगरपालिका वडा नम्बर–८ बरेवा टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवारहरूले मतदातासँग भलाकुसारी गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरेका छन्। उनीहरूले विकास, सुशासन, रोजगारी र राजनीतिक स्थायित्वका विषयलाई प्राथमिकतामा राख्दै आ–आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। उम्मेदवारहरू देशलाई निकास दिन सक्षम प्रतिनिधि आवश्यक रहेको दाबी गर्दै मतदाताको विश्वास जित्ने प्रयासमा जुटेका छन्।
जनमत पार्टीका उम्मेदवार प्रमोद साह संविधान सभा सदस्यका रूपमा रहँदा जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरेको बताउँदै आएका छन्। जसपा पार्टीका उम्मेदवार रामबाबु यादव पूर्व प्रतिनिधि सभा सदस्य भइसकेका अनुभवी नेता हुन्। त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका इन्जिनियर अरबिन्द साह ‘बालेनमय’ परिवर्तनको एजेन्डासहित नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुँदै आएका छन्।
चुनावी मिति नजिकिँदै जाँदा बारा–३ को राजनीतिक माहोल थप तातिएको छ। अब फागुन २१ गते हुने निर्वाचनमा यी तीन उम्मेदवारमध्ये कसले बाजी मार्ला भन्ने चासो र उत्साह मतदाता तथा राजनीतिक वृत्तमा बढ्दै गएको छ।