47

गण्डक नहर चौकमा प्रहरीद्वारा खुला असुलीको आरोप चालकहरू त्रसित, निगरानी र छानबिनको माग

वीरगंज , २० माघ

पर्सा जिल्लाको व्यस्त क्षेत्र वीरगञ्जस्थित गण्डक नहर चौकमा खटिएको प्रहरी टोलीले चेकजाँचको नाममा खुला रूपमा अवैध असुली गरेको आरोप लागेको छ। स्थानीय तथा सवारी चालकहरूका अनुसार मङ्गलबार बिहान करिब १०:४५ बजे ड्युटीमा रहेका प्रहरी कर्मचारीहरूले विभिन्न सवारी साधनबाट पैसा असुली गरी छाड्ने गरेको देखिएको हो।

प्रत्यक्षदर्शीका अनुसार सो समयमा ड्युटीमा खटिएका प्रहरी वरिष्ठ हवल्दार ‘मण्डल’ थर भएका व्यक्तिले तरकारी बोकेको गाडीबाट रकम लिई छाडेका थिए भने प्रहरी जवान एन. के. साहले मोटरसाइकलमा लोड गरिएको कुरकुरे बोकेको सवारीबाट पैसा लिई जान दिएका थिए। घटनास्थलमै यस्तो गतिविधि खुलेआम भइरहेको देखिएको प्रत्यक्षदर्शीको दाबी छ।

चालकहरूका अनुसार पैसा नदिने सवारी साधनहरूलाई भने अनावश्यक दु:ख, लामो समय रोकेर जाँच, कागजात माग्दै हैरानी दिने गरिएको छ। “चेकजाँच सुरक्षा र नियम कार्यान्वयनका लागि हुनुपर्ने हो, तर यहाँ त पैसा दिएपछि मात्रै बाटो खुल्ने अवस्था छ,” एक चालकले नाम नखुलाउने सर्तमा गुनासो गरे।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रहरी वरिष्ठ हवल्दार मण्डल र प्रहरी जवान साहले पैसा नलिएको दाबी गर्दै ‘अरु केही गर्नुपर्छ भने गर’ भन्ने जवाफ दिएको स्थानीय स्रोतले जनाएको छ। उनीहरूले आफूहरू निर्दोष रहेको दाबी गरे पनि घटनास्थलमा देखिएको गतिविधिले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

स्थानीय नागरिकहरू र सवारी चालकहरूले यस किसिमको व्यवहारले प्रहरीप्रति जनविश्वास कमजोर हुँदै गएको बताएका छन्। उनीहरूका अनुसार खुलेआम असुली रोक्न उच्च तहबाट तत्काल छानबिन, सिसिटिभी तथा आन्तरिक निगरानी कडा बनाउन आवश्यक छ।

सरोकारवालाहरूले पर्सा प्रहरी प्रशासनसँग घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन्। यदि यस्ता गतिविधिलाई समयमै नियन्त्रण नगरिए, प्रहरी संगठनकै छवि र विश्वसनीयतामा गम्भीर असर पर्ने चेतावनीसमेत उनीहरूको छ।

Leave A Reply

Your email address will not be published.