रामबाबु मेहताको मातृशोक, ७२ वर्षको उमेरमा आमाको निधन
बारा , २२ माघ
नेपाल पत्रकार महासंघ बारा शाखाका निवर्तमान उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहतामाथि मातृशोक परेको छ। मेहताको ममतामयी आमाको ७२ वर्षको उमेरमा आज असामयिक निधन भएको हो।
परिवारजनका अनुसार उहाँ केही समयदेखि अस्वस्थ रहनु भएको थियो। उपचारका क्रममा आज उहाँको दुःखद निधन भएको हो। स्वर्गीय आमाको निधनले मेहता परिवार शोकमा डुबेको छ भने आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरू शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न घरमा पुगिरहेका छन्।
स्वर्गीय आमा सरल, मिलनसार र सामाजिक भावनाले भरिपूर्ण व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले आफ्ना सन्तानलाई नैतिकता, अनुशासन र समाजप्रतिको उत्तरदायित्वबोध सिकाउँदै हुर्काउन महत्वपूर्ण भूमिका खेलेको परिवारजनले बताएका छन्।
पत्रकारिता क्षेत्रमा सक्रिय रामबाबु मेहता मातृवियोगको पीडामा रहेको खबरपछि नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, सञ्चारकर्मी तथा विभिन्न सामाजिक–राजनीतिक क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन्। उनीहरूले स्वर्गीय आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
स्वर्गीय आमाको अन्त्येष्टि आज नै पारिवारिक परम्परा अनुसार गरिने बताइएको छ।