रौतहट २२ माघ
रौतहटको ईशनाथ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग भएको कारको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार दिउँसो करिब २:३० बजेको समयमा बा.१५ च. ४२४४ नम्बरको कारले घर नजिकै खेलिरहेकी मोहमद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको थियो। तीव्र गतिमा रहेको कारले बालिकालाई ठक्कर दिएपछि घटनास्थलमा ठूलो खैलाबैला मच्चिएको थियो।
दुर्घटना लगत्तै घाइते बालिकालाई कार चालक आफैँले सोही कारमा राखेर उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याएपछि बालिकाको अवस्था गम्भीर देखेपछि र कानुनी कारबाहीको डरले चालक बालिकालाई अस्पतालमै अलपत्र छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले घाइते बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याएको थियो। तर, उपचारकै क्रममा दिउँसो २:४५ बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जनाए ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको उक्त कारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको फोटोसहितका स्टिकरहरू टाँसिएका थिए। यद्यपि, दुर्घटनापछि र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि हतार-हतार गाडीमा रहेका स्टिकरहरू उप्काइएको स्थानीयले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार गाडीमा पार्टीको झण्डा नभए पनि उम्मेदवारको प्रचार सामग्री स्पष्ट देखिएको थियो।
गाडीमा रास्वपा उम्मेदवारको फोटोसहितको स्टिकर थियो, तर घटनापछि केही व्यक्तिहरूले प्रमाण मेटाउन स्टिकर उप्काएको देखियो, एक स्थानीयले बताए।
प्रहरीले दुर्घटनामा संलग्न बा.१५ च. ४२४४ नम्बरको कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भन्ने फरार रहेका चालकको पहिचान भइसकेको र उनको खोजी कार्य तीव्र पारिएको डिएसपी वस्यालले बताए।
मृतक बालिकाको शव हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको हो । राजनीतिक दलको चुनावी प्रचारमा प्रयोग भएको सवारी साधनबाट यस्तो मानवीय क्षति भएपछि स्थानीयले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।