जेनजी एण्ड यूथ बारा कलैयाको सामाजिक अभियान सक्रिय, रक्तदानदेखि धुलो–समस्यासम्म केन्द्रित निर्णय

कलैया , २५ माघ

जेनजी एण्ड यूथ बारा अन्तर्गत कलैया उपमहानगरपालिकाको नगर कमिटी बैठकले समाजसेवा र जनमुखी कार्यलाई प्राथमिकतामा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। शनिबार सम्पन्न बैठकले स्वास्थ्य, वातावरण र नागरिक असुविधासँग प्रत्यक्ष जोडिएका विषयमा ठोस पहल गर्ने निष्कर्ष निकालेको हो।

बैठकले हाल बारा जिल्लामा बिरामीहरूका लागि रगतको अभाव गम्भीर बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै आगामी फाल्गुन २ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। यस कार्यक्रमले आकस्मिक तथा नियमित उपचारमा रहेका बिरामीहरूलाई राहत पुग्ने र जिल्लामा देखिएको रगतको कमी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी बैठकले फाल्गुन ४ गतेपछि चुनावी गतिविधिका क्रममा निकालिने र्‍यालीका दिनहरूमा नागरिकले दैनिक रूपमा भोग्दै आएको धुलो र सडक समस्यालाई उजागर गर्ने निर्णय पनि गरेको छ। नगरपालिकाभित्र करिब ३ किलोमिटर लामो अधुरो सडकमा पानी नछर्किन उपमहानगरपालिकालाई आग्रह गर्ने निर्णय गर्दै सोही सडकमार्ग हुँदै र्‍याली निकालिने बताइएको छ।

नगर संयोजक सौरभ पाण्डेयका अनुसार, उक्त र्‍यालीमा सहभागी कुनै पनि उम्मेदवारले सिसाबन्द गाडी प्रयोग नगरी सर्वसाधारणले प्रयोग गर्ने साधनमार्फत यात्रा गर्ने निर्णय गरिएको छ। यसबाट जनताले वर्षौंदेखि भोग्दै आएको धुलो, असुविधा र समस्याको प्रत्यक्ष अनुभूति नेतृत्व तहले गर्न सक्ने विश्वास लिइएको छ।

बैठकले समाज विकास, जनस्वास्थ्य, नागरिक सचेतना र स्थानीय समस्याको समाधानका लागि आवश्यक पर्ने सबै प्रकारका सकारात्मक तथा जनहितका कार्यमा जेनजी एण्ड यूथ बारा टिम एकताबद्ध भएर सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

स्थानीयस्तरमा युवा शक्ति सामाजिक उत्तरदायित्वप्रति सचेत बन्दै गएको सन्देश दिने यी निर्णयहरूले कलैयामा जनमुखी अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *