
रौतहट, ०३ जेठ
जिल्लाको बौधीमाई नगरपालिकामा कार्यरत एक शिक्षकमाथि भएको अमानवीय दुर्व्यवहार र कुटपिटको घटनाले अहिले जिल्लाभरि चर्चा र आक्रोश पैदा गरेको छ। श्री शंकर माध्यमिक विद्यालय सरमुजवामा कार्यरत शिक्षक रामबाबु यादवमाथि भएको उक्त आक्रमणको विरोधमा रौतहटस्थित विभिन्न शैक्षिक तथा पेशागत संघ–संस्थाहरूले एकगठ भई दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
गएको वैशाख २९ गते मंगलबार विद्यालय पालिकामै प्राथमिक तहका शिक्षक रामबाबु यादवमाथि दुर्व्यवहार तथा कुटपिट भएको थियो। स्थानीय जनप्रतिनिधि र जिम्मेवार निकायका पदाधिकारीहरू नै शिक्षकमाथि हातपातमा उत्रिएपछि जिल्लाको शैक्षिक जगत त्रसित र आक्रोशित बनेको हो।
संयुक्त प्रेस विज्ञप्ति र मागहरु राखेका छन्।
संघ–संगठनहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस घटनाको घोर भर्त्सना गरेका छन्। विज्ञप्तिमा भनिएको छ, नेपालको संविधानले शिक्षालाई तीनै तहको साझा अधिकार क्षेत्रभित्र राखेको अवस्थामा शिक्षकको परिचालन र नियमन गर्ने निकायका जिम्मेवार पदाधिकारीहरू नै यसरी कुटपिटमा संलग्न हुनु अत्यन्तै दुःखद, निन्दनीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीतको कार्य हो।
विज्ञप्तिमार्फत शिक्षक संगठनहरूले घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। आरोपीहरूको सूचीमा निम्न व्यक्तिहरू रहेका छन्: प्रदीप कुमार यादव नगर प्रमुख, बौधीमाई नगरपालिका, विन्देश्वर राय यादव वडा अध्यक्ष वडा नं. ८, सुनिल जयसवाल कार्यपालिका सदस्य रहेका छन्।
शिक्षक संघ–संस्थाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटलाई विशेष आग्रह गर्दै मिति २०८३ जेठ ५ गतेभित्र दोषीहरूलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न समयसीमा दिएका छन्।
प्रशासनले तोकिएको समयभित्र माग पूरा नगरेमा र दोषीलाई उन्मुक्ति दिने प्रयास गरेमा जिल्लाव्यापी रूपमा कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिइएको छ। नेपाल शिक्षक महासंघ रौतहटको नेतृत्वमा चरणबद्ध आन्दोलन सुरु गर्ने र यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रशासन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
ऐक्यबद्धता जनाउने संघ-संस्थाहरू
उक्त संयुक्त विज्ञप्तिमा रौतहट जिल्लाका प्रभावशाली शिक्षक संगठनका नेतृत्वकर्ताहरूले हस्ताक्षर गरेका छन्:
नागेन्द्र राय यादव – सचिव नेपाल शिक्षक संघ रौतहट, योगेन्द्र प्रसाद कुशवाहा – अध्यक्ष नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट,
धर्मेन्द्र प्रसाद सिंह – अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहट, बुनिलाल प्रसाद यादव – अध्यक्ष, एकीकृत अखिल शिक्षक संगठन रौतहट, शिवशंकर झा – अध्यक्ष नेपाल शिक्षक मञ्च रौतहट रहेका छन्।
शिक्षा क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा खटिने राष्ट्रसेवकमाथि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाटै भएको यो आक्रमणले कानुनी राज्यको उपहास गरेको भन्दै नागरिक समाजले पनि यसप्रति चासो देखाएको छ। अब प्रशासनले जेठ ५ गतेभित्र कस्तो कदम चाल्छ भन्ने कुराले रौतहटको शैक्षिक वातावरण र शान्ति सुरक्षाको अवस्था निर्धारण गर्ने देखिन्छ।



