मधेशसमाचार

विकास निर्माणको विवादमा युवक गम्भीर घाइते, आईसीयूमा उपचाररत

रौतहट, ०४ जेठ

रौतहटको कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोकामा विकास निर्माणको क्रममा भएको विवादमा एक युवक गम्भीर घाइते भएका छन्।

वडा नं. ३ स्थित बिच गाउँमा निर्माणाधीन नाला तथा सडक ढलान कार्यका क्रममा ऐलानी जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको स्थानीयले बताएका छन्। स्थानीय हरेन्द्र साह बनियाँको घरदेखि उत्तर–दक्षिणसम्म १२ फिट सडक चौडा गर्ने सहमतिका विषयमा विवाद उत्पन्न भएको जनाइएको छ।

स्थानीयवासीका अनुसार भिखारी साह बनियाँले ऐलानी जग्गा कब्जा गरेको र खाली गर्न नमानेपछि विवाद चर्किएको हो। विवाद उग्र बन्दै जाँदा भिखारी साहले छिमेकी हरेन्द्र साह बनियाँमाथि कुटपिट गरेको आरोप लागेको छ।

पीडित हरेन्द्र साह बनियाँका अनुसार किला ठोकिएको बाँसको भाटा प्रहार गर्दा उनका जेठा छोरा सुकेश साह गम्भीर घाइते भएका हुन्। घाइते सुकेश साहको वीरगञ्जस्थित निकण्ठ हस्पिटल मा आईसीयूमा राखेर उपचार भइरहेको परिवारले जनाएको छ।

पीडित पक्षले आफूहरूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय कटहरिया मा लिखित उजुरी दिएको जनाएको छ।

घटनामा सन्तोष साह, अनिता देवी तथा छिमेकी विकी साहकी पत्नी सबिता साहमाथि समेत कुटपिट भएको पीडित पक्षको आरोप छ।

यता, उपभोक्ता समितिका सचिव लालबाबु साह बनियाँमाथि केही दिनअघि स्थानीय सरिता देवीलाई समेत कुटपिट गरेको आरोप लागेको बताइएको छ। स्थानीयवासीका अनुसार विकास निर्माणसँग जोडिएका विवादले पटक–पटक तनाव सिर्जना गर्दै आएको छ।

घटनाबारे वडा अध्यक्ष श्यामाकान्त यादव ले विकास निर्माणभन्दा बढी व्यक्तिगत विवादका कारण घटना भएको प्रतिक्रिया दिएका छन्।

त्यसैगरी उपभोक्ता समितिका रामप्रवेश साह बनियाँले भिखारी साहले ऐलानी जग्गा खाली गर्न नमानेको दाबी गर्दै स्थानीयको पहलमा उक्त जग्गा खाली गराइएको बताए।

घटनाबारे इलाका प्रहरी कार्यालय कटहरियाले अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button