मधेशसमाचार

विद्यालय कि मदिरालय? गौरको एक विद्यालयमा मदिराका बोतल भेटिएपछि स्थानीय युवाद्वारा सफाइ

रौतहट, ०४ जेठ

विद्यार्थीहरूले भविष्य निर्माण गर्ने विद्याको मन्दिर मानिने विद्यालय परिसर नै फोहोरको डंगुर र मदिरा सेवन गर्ने अखडा बनेको तथ्य सार्वजनिक भएको छ। रौतहटको गौर नगरपालिका–८ स्थित आधारभूत प्राथमिक विद्यालय पुरेनवाको दयनीय अवस्था बाहिरिएसँगै विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिको गैरजिम्मेवारीपनप्रति गम्भीर प्रश्न खडा भएको छ।

विद्यालय परिसरभित्रै मदिरा र बियरका खाली बोतलहरू जताततै छरिएको शौचालय दुर्गन्धित भएको र लामो समयदेखि सरसफाइ नभएको फेला परेपछि स्थानीय युवाहरू आन्दोलित बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समिति अध्यक्ष एवं समाजसेवी विरेन्द्र साह को नेतृत्वमा स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा विद्यालय सुधार तथा बृहत् सरसफाइ अभियान सञ्चालन गरेका हुन्।

उक्त अभियानमा दुई दर्जनभन्दा बढी युवा, अभिभावक र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको आँगन, कक्षाकोठा आसपास र शौचालयमा थुप्रिएको फोहोर हटाएका थिए।

सरसफाइ अभियानको नेतृत्व गरिरहेका विरेन्द्र साहले विद्यालय व्यवस्थापन समिति र वडाका जनप्रतिनिधिहरूको चरम लापरवाहीका कारण शैक्षिक संस्थाको गरिमा धुमिल भएको बताए । उनले भन्ने :एउटा विद्यालयभित्र मदिराका बोतलहरू फेला पर्नु लज्जास्पद विषय हो। विद्यालय नजिकै खुलेआम मदिरा बिक्री भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नुले कानुनको धज्जी उडेको छ। हामीले बालबालिकाको स्वास्थ्य र भविष्यमाथि खेलबाड हुन दिने छैनौँ।

स्थानीयका अनुसार विद्यालयमा शौचालयको सुविधा भए तापनि नियमित सरसफाइ नहुँदा विद्यार्थीहरू खुल्ला ठाउँमा जान बाध्य छन्, जसले गर्दा उनीहरूको स्वास्थ्यमा ठूलो जोखिम निम्तिएको छ।

अभियानमा सहभागी युवाहरू मुकेश कुमार साह, राम बालिक साह, सञ्जय साह, राजा बाबु महतो, सुबोध साह, र कृष्ण साह लगायतले विद्यालयको शैक्षिक वातावरण सुधार्न कडा कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले विद्यालय परिसरमा हुने अनैतिक गतिविधि तत्काल रोक्न र मदिरा सेवन गर्नेहरूलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग आग्रह गरेका छन्।

प्रमुख मागहरू:विद्यालय परिसरमा नियमित सरसफाइको सुनिश्चितता, विद्यालय आसपास रहेका मदिरा पसलहरूलाई कानुनी मापदण्डभित्र ल्याउने, विद्यालय व्यवस्थापन समितिको जवाफदेहिता र सक्रियता,

बालबालिकाका लागि सुरक्षित र स्वच्छ शैक्षिक वातावरणको निर्माण समेतको नगरपालिका र शिक्षा शाखाले यस्तो संवेदनशील विषयमा कस्तो कदम चाल्छ भन्नेतर्फ अहिले सबैको ध्यान केन्द्रित भएको छ। स्थानीय युवाहरूले भने सुधार नभएसम्म आफ्नो दबाबमूलक अभियान जारी राख्ने चेतावनी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button