मधेशसमाचार

बिजुली–पानी भुक्तानीको माग गर्दै मौलापुर नगरपालिकामा तालाबन्दी

रौतहट, ०५ जेठ

विभिन्न सामाजिक सेवा तथा सुविधा निरन्तरता दिनुपर्ने माग गर्दै रौतहटको मौलापुर नगरपालिकामा स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्। संघर्ष समितिको नेतृत्वमा आइतबार स्थानीयहरूले नगरपालिका कार्यालय घेराउ गर्नुका साथै तालाबन्दी गर्दै चर्का नाराबाजी गरेका हुन्।

मौलापुर नगरपालिकाले विगतदेखि उपलब्ध गराउँदै आएको बिजुली–पानीको भुक्तानी तथा छोरीको विवाहमा प्रदान गरिने आर्थिक सहयोगलाई निरन्तरता दिनुपर्ने माग राख्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनकारीहरूले बिजुली, पानी तथा विवाह सहयोगको बाँकी रकम तत्काल निकासा गर्न माग गरेका छन्।

संघर्ष समितिले यसअघि नै सार्वजनिक गरेको आन्दोलन कार्यक्रमअनुसार आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको हो। आन्दोलनका क्रममा स्थानीयहरूले “बिजुली–पानीको भुक्तानी रोक्ने षड्यन्त्र बन्द गर”, “छोरीको विवाह सहयोग तुरुन्त देउ”, “जनविरोधीहरू होशियार”, “मौलापुरको बदनामी स्वीकार्य छैन”, “अनैतिक गठबन्धन मुर्दावाद” लगायतका नाराबाजी गरेका थिए।

संघर्ष समितिका संयोजक भोला पाण्डेले नगरपालिकाले वर्षौंदेखि प्रदान गर्दै आएको आधारभूत तथा सामाजिक सेवा रोक्ने प्रयास भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए। उनले नगरवासीले पाउँदै आएको सेवा तत्काल सुचारु गर्नुपर्ने माग गर्दै आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिए।

आन्दोलनकारीहरूले यसअघि वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको पनि बताएका छन्। टोलटोलमा अन्तरक्रिया, हस्ताक्षर संकलन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि मागको सुनुवाइ नभएकाले आन्दोलनलाई थप कडा बनाइएको उनीहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार नगरपालिकाले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित सेवा विगतमा नियमित रूपमा उपलब्ध गराउँदै आएको थियो। तर पछिल्लो समय नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि ती सेवा रोक्ने प्रयास गरिएको आरोप उनीहरूले लगाएका छन्।

आन्दोलनकारीहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको संघीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे विभिन्न बहाना बनाएर नगरबासीले वर्षौंदेखि पाउँदै आएको सेवा रोक्न र लोकप्रिय कार्यक्रम हटाउन खोजिरहेको आरोप समेत लगाएका छन्।

यता मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नगरपालिकाले विगतदेखि नै बिजुली, पानीलगायतका केही सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बताइन्। ती सेवाहरूलाई निरन्तरता दिन आफूहरू सकारात्मक रहेको तर भुक्तानी प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृतबाट अवरोध सिर्जना भएको कारण समस्या उत्पन्न भएको उनको भनाइ छ।

स्थानीय आन्दोलनका कारण नगरपालिकाको सेवा प्रवाह प्रभावित बनेको छ भने घटनाले मौलापुर नगरपालिकाको आन्तरिक प्रशासनिक विवाद सतहमा आएको देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button