
कलैया , ०६ जेठ
कलैया उपमहानगरपालिका वडा नम्बर–२७ का वडा अध्यक्ष अशोक कुमार तिवारीले विभिन्न सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा विद्युतीय उपकरण सहयोग प्रदान गरेका छन्।
मंगलबार आयोजित कार्यक्रममार्फत वडा अध्यक्ष तिवारीले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बर्वा लाई एक थान कम्प्युटर र दुई थान वालफ्यान हस्तान्तरण गरेका हुन्। त्यसैगरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बिजुलपुर रामपुर लाई चार थान पङ्खा तथा श्री सरस्वती आधारभूत विद्यालय पर्ताटोल लाई समेत चार थान पङ्खा उपलब्ध गराइएको जनाइएको छ।
विद्यालयहरूमा विद्यार्थीको अध्ययन वातावरण सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको वडा अध्यक्ष तिवारीले बताएका छन्। उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास र विद्यालयको आधारभूत आवश्यकता पूर्तिका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय अभिभावकहरूले वडा कार्यालयको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।



