
हरिकिशोर शर्मा
पर्सा, ०६ जेठ
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा को आयोजनामा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न गरिएको छ। वीरगंज महानगरपालिका–१४ पिपरास्थित गण मुख्यालय नजिक रहेको पोखरी क्षेत्रमा आयोजित उक्त अभ्यासमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यवहारिक प्रदर्शन गरिएको थियो।
कार्यक्रममा अशोक कुमार वमको प्रमुख आतिथ्यता रहेको थियो। उनी सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति हुन्।
सेमुलेशन अभ्यासमा सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दासहित करिब १५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धारको प्रारम्भिक प्रक्रिया तथा सामूहिक सचेतनाबारे जानकारी गराइएको थियो।
अभ्यासका क्रममा पानीमा डुबेका व्यक्तिको खोज तथा उद्धार, डोरी, लाइफ ज्याकेट, ट्युब लगायतका उद्धार सामग्रीको प्रयोग, घाइतेलाई सुरक्षित स्थानमा सार्ने तरिका तथा प्राथमिक उपचारसम्बन्धी व्यवहारिक प्रदर्शन गरिएको थियो। सशस्त्र प्रहरीका प्रशिक्षित टोलीले वास्तविक विपद् आएजस्तै वातावरण सिर्जना गर्दै उद्धार कार्यको नमुना अभ्यास गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपरीक्षक वमले वर्षायाम नजिकिँदै गइरहेका बेला जलजन्य विपद्का घटनाबाट बच्न समयमै सचेतना र तयारी आवश्यक रहेको बताए। उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगै स्थानीय समुदायको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता अभ्यासले जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरीले मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न क्षेत्रमा विपद् उद्धार तयारी, जनचेतनामूलक कार्यक्रम तथा पूर्वअभ्यासलाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थी तथा स्थानीयहरूले समेत यस्तो व्यवहारिक अभ्यासले विपद्को समयमा अपनाउनुपर्ने उपायबारे प्रत्यक्ष ज्ञान प्राप्त भएको प्रतिक्रि
या दिएका थिए।



