
बिरगंज, ०६ जेठ
जिल्ला प्रहरी कार्यालय पर्साले बोक्सी आरोपसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको अनुसार वीरगंज महानगरपालिका वडा नम्बर–३२ चोर्नी टोलस्थित एक घरमा बोक्सी आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटनामा संलग्न तीन जनालाई मँगलबार नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गत फागुन २७ गते करिब ११ः३० बजे वीरगंज महानगरपालिका–३२ निवासी २८ वर्षीया मुन्ती देवी समेत जोखेबालीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट तथा दुर्व्यवहार गरिएको थियो। पीडितलाई “भूत–प्रेत लागेको”, “बोक्सी परेको” जस्ता आरोप लगाउँदै गालीगलौज र कुटपिट गरिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–३२ चोर्नीका ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी र ५० वर्षीया शान्ति देवी धानुकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी टोलीले उनीहरूलाई वीरगंज महानगरपालिका–८ घण्टाघर क्षेत्रमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका महिलामाथि बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ अन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले सामाजिक अन्धविश्वास तथा बोक्सी आरोपजस्ता अमानवीय गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै यस्ता घटनामा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।



