
रौतहट, ०६ जेठ
रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका ले संघीय सरकारको अभ्यासभन्दा फरक निर्णय गर्दै अब साताको ६ दिन नै विद्यालय तथा सरकारी कार्यालय सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको जेठ ४ गते बसेको बैठकले स्थानीय आवश्यकता, सेवाग्राहीको सहजता तथा शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै आइतबारको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो।
नगर प्रमुख सञ्जय कुमार काफ्ले द्वारा जारी सूचनाअनुसार नगरक्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी जेठ १० गतेदेखि लागू हुने गरी आइतबार पनि नियमित पठनपाठन सञ्चालन हुनेछ। यससँगै नगरपालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरू समेत साताको ६ दिन खुला रहनेछन्।
केही समयअघि संघीय सरकारले इन्धन खपत घटाउने तथा प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको थियो। तर, चन्द्रपुर नगरपालिकाले स्थानीय अवस्था, विद्यार्थीहरूको अध्ययन अवधि तथा सेवाप्रवाहमा देखिएको समस्यालाई आधार बनाउँदै पुरानै ६ दिने कार्यप्रणालीलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।
नगरपालिकाले नयाँ कार्यालय समयसमेत सार्वजनिक गरेको छ। जसअनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ भने शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिनेछ। यो समयतालिका नगरपालिकाको मुख्य प्रशासनिक भवनसहित १० वटै वडा कार्यालय, स्वास्थ्य चौकी, अस्पताल, कृषि शाखा, पशु सेवा केन्द्र तथा मातहतका सम्पूर्ण निकायहरूमा लागू हुने जनाइएको छ।
मधेश प्रदेशका अधिकांश स्थानीय तहहरूमा दुई दिने सार्वजनिक बिदा व्यावहारिक नभएको गुनासो विगतदेखि उठ्दै आएको थियो। विशेषगरी ग्रामीण तथा कृषि प्रधान क्षेत्रमा टाढादेखि सेवा लिन आउने सेवाग्राहीहरू आइतबार कार्यालय बन्द हुँदा समस्यामा पर्ने गरेका थिए। चन्द्रपुर नगरपालिकाले त्यही अवस्थालाई मध्यनजर गर्दै सेवाप्रवाहलाई सहज बनाउन यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।
नगर प्रमुख काफ्लेले स्थानीय आवश्यकता र जनचाहनालाई आधार बनाएर निर्णय गरिएको बताउँदै भने, “हाम्रो मुख्य प्राथमिकता भनेको नागरिकलाई सहज सेवा प्रदान गर्नु र बालबालिकाको भविष्य सुनिश्चित गर्नु हो। स्थानीय वस्तुस्थितिको विश्लेषण गर्दा आइतबार कार्यालय बन्द राख्दा सेवा प्रवाहमा ढिलासुस्ती हुने देखिएकाले हामीले साताको ६ दिन नै काम गर्ने निर्णय गरेका हौँ।”
नगरपालिकाको निर्णयपछि चन्द्रपुरबासीले साताको अधिकांश दिन प्रशासनिक, प्राविधिक तथा शैक्षिक सेवा अविरल रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। नगर प्रशासनले यस निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारी तथा शिक्षण संस्थाहरूलाई निर्देशनसमेत दिइसकेको जनाएको छ।
संघीय सरकारले परीक्षणका रूपमा अघि सारेको दुई दिने सार्वजनिक बिदाको अवधारणा धेरै स्थानीय तहमा प्रभावकारी हुन नसकेको भन्दै क्रमशः त्यस्तो अभ्यास हटाउँदै लगिएको छ। यसअघि केही ठूला सहर तथा निकायहरूले आइतबार बिदाको अभ्यास गरे पनि चन्द्रपुरको पछिल्लो निर्णयले स्थानीय स्वायत्तता र स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको विश्लेषण गरिएको छ।



