
बिरगंज, ०६ जेठ
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरूले मंगलबार वीरगंजमा प्रदर्शन गरेका छन्। समर्थकहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गर्दै प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका हुन्।
यसैबीच, प्रहरीले प्रसाईंमाथि अनुसन्धान गर्न थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगंजस्थित होटल सिद्धार्थ दियालो बाट पक्राउ परेका प्रसाईंलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि म्याद थप गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पुग्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका कार्यमा संलग्न रहेको भन्ने उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। उनीमाथि हाल विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न सार्वजनिक अभिव्यक्ति, कार्यक्रमका गतिविधि तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्रीहरूको थप विवरण र प्रमाण संकलन भइरहेको जानकारी दिए। उनका अनुसार अनुसन्धान पूरा नभएसम्म प्रसाईंलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ।
प्रसाईं मंगलबार वीरगंजमा आयोजना हुने कार्यक्रमका लागि सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। प्रहरीका अनुसार उनलाई बेलुकी करिब ८ बजेतिर होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिइएको हो।
प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरूले वीरगंजमा विरोध प्रदर्शन चर्काएका छन्। प्रदर्शनकारीहरूले सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा प्रसाईंलाई पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्। प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा केही समय सुरक्षा व्यवस्था कडा पारिएको थियो।
प्रहरीले भने कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको र शान्ति सुरक्षा अवस्था सामान्य रहेको जनाएको छ।



