मधेशसमाचार

बारा प्रहरीमाथि गम्भीर प्रश्न : तस्करलाई छुट, सर्वसाधारणलाई सास्ती

बारा, ०७ जेठ

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरीमाथि पछिल्लो समय बाराका विभिन्न सीमावर्ती क्षेत्रमा आर्थिक चलखेलमा संलग्न भएको आरोप बढ्न थालेको छ । जनताको सुरक्षामा खटिनुपर्ने प्रहरी प्रशासन नै तस्करी नियन्त्रणमा उदासीन बनेपछि सर्वसाधारण नागरिकले सास्ती खेप्नु परेको स्थानीयहरूको गुनासो रहेको छ ।

विशेषगरी बाराको सिम्रौणगढ, कचोर्वा, आमवा लगायत सीमावर्ती क्षेत्रमा दिनप्रतिदिन चोरी तस्करी बढ्दै गए पनि सम्बन्धित निकाय भने मौन बसिरहेको आरोप स्थानीयवासीले लगाएका छन् । स्थानीयका अनुसार भारतसँग जोडिएका विभिन्न नाकाबाट रातिको समयमा खुलेआम अवैध रूपमा मालसामान ओसारपसार हुने गरेको छ । तर, प्रहरी प्रशासनले प्रभावकारी निगरानी नगर्दा तस्कर समूहहरू झन् सक्रिय बन्दै गएका छन् ।

स्थानीय बासिन्दाहरूको भनाइअनुसार दिनको समयमा सुनसान देखिने सीमावर्ती नाकाहरू राति पर्दा तस्करहरूको अखडा बन्ने गरेका छन् । मोटरसाइकल, साइकल, टेम्पो तथा साना गाडीमार्फत कपडा, खाद्यान्न, किराना, इलेक्ट्रोनिक्स सामग्रीदेखि अन्य विभिन्न सामान अवैध रूपमा भित्र्याउने र बाहिर पठाउने कार्य दैनिकजसो हुने गरेको उनीहरूको दाबी छ ।

स्थानीयहरूले पटक–पटक चोरी तस्करीका गतिविधिबारे प्रहरीलाई जानकारी गराउँदा समेत कुनै ठोस कदम नचालिएको गुनासो गरेका छन् । उनीहरूका अनुसार जिल्ला प्रहरी कार्यालय बारासम्म खबर पुर्‍याउँदा समेत चासो नदिइनुले प्रहरी प्रशासनमाथि नै शंका उत्पन्न भएको छ । “यदि प्रहरी प्रशासन इमान्दार भएर लाग्ने हो भने सीमा क्षेत्रमा हुने तस्करी धेरै हदसम्म नियन्त्रण हुन सक्छ,” एक स्थानीयले भने, “तर यहाँ त उल्टै तस्करहरूकै मनोबल बढाउने काम भइरहेको छ ।”

सिम्रौणगढ नाकाबाट मात्रै दैनिक करोडौँ रुपैयाँ बराबरको मालसामान अवैध रूपमा आयात तथा निर्यात हुने गरेको स्थानीयहरूको दाबी छ । तर, यति ठूलो परिमाणमा भइरहेको अवैध कारोबार नियन्त्रण गर्न प्रहरी प्रशासन असफल देखिएको छ । कतिपयले त प्रहरी र तस्कर समूहबीच आर्थिक साँठगाँठ भएको आशंका समेत व्यक्त गरेका छन् । बिचौलियामार्फत रकमको चलखेल हुने र माथिल्लो तहसम्म सेटिङ मिल्ने गरेका कारण स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेको हुन सक्ने स्थानीयहरूको आरोप छ ।

यता सर्वसाधारण नागरिक भने सामान्य काममा समेत प्रहरीको कडाइ र दुःख झेल्न बाध्य छन् । एकातर्फ गरिब जनतामाथि कडाइ गर्ने, अर्कोतर्फ तस्कर समूहलाई संरक्षण दिने प्रवृत्तिले प्रहरी संगठनकै विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।

स्थानीयहरूले सीमावर्ती क्षेत्रमा भइरहेको चोरी तस्करीको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । साथै प्रहरी संगठनभित्र हुने सम्भावित आर्थिक चलखेल र सेटिङ संस्कृतिको अन्त्य गरी जनताको सुरक्षामा केन्द्रित हुनुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button