मधेशसमाचार

रौतहटमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास २०८३ सम्पन्न; सम्भावित जोखिम न्यूनीकरणमा जोड

​रौतहट , २२ जेठ

​वर्षायामको सुरुवातसँगै हुनसक्ने सम्भावित बाढी, डुबान तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै रौतहटमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास २०८३ सफलतापूर्वक सम्पन्न भएको छ ।
​जिल्ला विपद् व्यवस्थापन समिति रौतहटको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा राजदेवी नगरपालिका–१ स्थित श्री पथरा माध्यमिक विद्यालयको पोखरीमा बुधबार विशेष कृत्रिम घटना अभ्यास (Simulation Exercise) प्रदर्शन गरिएको हो ।
​​विपद्को समयमा उद्धार कार्यलाई कसरी प्रभावकारी बनाउने र सुरक्षा निकायहरूबीचको समन्वयलाई कसरी चुस्त राख्ने भन्ने उद्देश्यले आयोजित उक्त अभ्यासमा जिल्लाका तीनवटै सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो । अभ्यासमा नेपाली सेनाको श्री नारायण दल गण, जिल्ला प्रहरी कार्यालय रौतहट, र सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका जनशक्तिहरूले उद्धारका विभिन्न सीप र प्रविधि प्रदर्शन गरेका थिए ।
​उद्धारका विभिन्न विधि प्रदर्शन
​पथरा माविको पोखरीमा गरिएको अभ्यासका क्रममा बाढी वा डुबानमा परेका व्यक्तिहरूलाई कसरी सुरक्षित स्थानमा लैजाने, पानीमा डुबिरहेकाहरूको उद्धार कसरी गर्ने र प्राथमिक उपचार कसरी प्रदान गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो । सुरक्षाकर्मीहरूले रबर बोट, लाइफ ज्याकेट र स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी नमुना उद्धार कार्य देखाएका थिए ।
​विपद् बाजा बजाएर आउँदैन, तर पूर्वतयारी भएमा मानवीय र भौतिक क्षतिलाई उल्लेख्य रूपमा कम गर्न सकिन्छ । आजको अभ्यासले हाम्रा सुरक्षा निकाय र सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन थप ऊर्जा र ज्ञान प्रदान गरेको छ ।
​कार्यक्रममा जिल्लाका विभिन्न नगरपालिकाका प्रतिनिधिहरू, रेडक्रस, गैरसरकारी संस्था तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न निकायहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता अभ्यासले विपद्को समयमा सर्वसाधारणको ज्यान जोगाउन र प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।
​रौतहट जिल्ला वर्षेनी बाढी र डुबानको उच्च जोखिममा रहने भएकाले मनसुन सुरु हुनुपूर्व नै गरिएको यो अभ्यासलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले सकारात्मक रूपमा लिएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले आगामी दिनमा पनि समुदाय स्तरसम्म सचेतना र पूर्वतयारीका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button