
कलैया , ०८ असार
बाराको प्रादेशिक अस्पताल कलैया मा सोमबार मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीर तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साह ले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्रीद्वयले अस्पतालको इमर्जेन्सी वार्ड, आईसीयू, ब्लड बैंक, एक्स–रे कक्ष, प्रयोगशाला, ओपीडी, फार्मेसी, सामाजिक सेवा इकाइ तथा क्यास काउन्टर लगायतका विभिन्न सेवा शाखाको निरीक्षण गर्दै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए। उनीहरूले उपचारका लागि आएका सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी अस्पतालले प्रदान गरिरहेको सेवाप्रति प्रतिक्रिया समेत संकलन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोहम्मद समीरले अस्पतालको भौतिक पूर्वाधार विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनले अस्पतालमा क्यान्टिन, चमेना गृह तथा नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै स्वास्थ्य संस्थाको स्तरोन्नतिलाई तीव्रता दिइने बताए।
उनले अस्पतालमा देखिएका व्यवस्थापकीय कमजोरी सुधार गर्न कर्मचारी तथा प्रशासनलाई निर्देशन दिँदै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिए।
त्यसैगरी स्वास्थ्य मन्त्री नागेन्द्र प्रसाद साहले औषधि उपलब्धता, स्वास्थ्यकर्मीको अवस्था, उपकरण सञ्चालन तथा सेवा व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले प्रदेश सरकारले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र सेवा सुविधाको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
अनुगमन टोलीमा विनोद साह, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारी, सदस्य प्रतिमा देवी यादव, मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, ल्याब प्राविधिक तथा विभिन्न शाखाका कर्मचारीहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा केही विभागमा सेवा व्यवस्थापनसम्बन्धी कमजोरी देखिएपछि मन्त्रीद्वयले तत्काल सुधार गर्न निर्देशन दिएका छन्। प्रदेश सरकारले प्रादेशिक अस्पताल कलैयालाई नमुना स्वास्थ्य संस्थाको रूपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।



