
कलैया , १३ असार
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समीर ले प्रादेशिक अस्पताल कलैयाको सेवा–सुविधा विस्तार तथा पूर्वाधार विकासका लागि महत्वपूर्ण पहल गरेका छन्। मन्त्री समीरको विशेष पहलमा अस्पताल परिसरमा आधुनिक क्यान्टिन, कुरुवा घर तथा सुविधासम्पन्न प्रसुती भवन निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।
लामो समयदेखि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको प्रादेशिक अस्पताल कलैयामा अब नयाँ संरचना निर्माण हुने भएपछि स्थानीयवासी, सेवाग्राही तथा स्वास्थ्यकर्मीहरु उत्साहित भएका छन्। अस्पतालमा दैनिक सयौं बिरामी उपचारका लागि आउने गरे पनि कुरुवाका लागि बस्ने उचित स्थान, स्वच्छ खानाको व्यवस्था तथा प्रसुती सेवाका लागि पर्याप्त भवन अभाव रहँदै आएको थियो।
विशेषगरी ग्रामीण क्षेत्रबाट आउने बिरामीका आफन्तले अस्पताल परिसरमै रात बिताउनुपर्ने बाध्यता रहँदै आएको अवस्थामा निर्माण हुन लागेको “कुरुवा घर” अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ। यस्तै, व्यवस्थित क्यान्टिन निर्माण भएपछि बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ तथा सहज खानपानको सुविधा उपलब्ध हुने विश्वास गरिएको छ।
त्यसैगरी, प्रसुती सेवा विस्तारका लागि निर्माण हुन लागेको नयाँ भवनले मातृ तथा शिशु स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने चिकित्सकहरुको भनाइ छ। हाल सीमित संरचना र भीडभाडका कारण सेवाग्राहीले सास्ती भोग्दै आएका थिए। नयाँ भवन निर्माणसँगै सुरक्षित प्रसुती सेवा, बेड क्षमता वृद्धि तथा आधुनिक स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय नागरिकहरुले मन्त्री समीरको पहललाई “स्वास्थ्य क्षेत्रको ऐतिहासिक कदम” को रुपमा प्रशंसा गरेका छन्। विकास निर्माण तथा जनताका आधारभूत आवश्यकताप्रति संवेदनशील बनेर काम गरेको भन्दै मन्त्री समीरप्रति धन्यवाद व्यक्त गरिएको छ।
राजनीतिक नेतृत्वले चाहेको खण्डमा जनताको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्न सकिने उदाहरण मन्त्री समीरले प्रस्तुत गरेको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ। उनीहरुले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले थालेको अभियान प्रशंसनीय रहेको बताएका छन्।
मन्त्री समीरले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले अस्पतालको पूर्वाधार सुधारलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। आगामी दिनमा पनि जनताको आवश्यकता अनुसार विकास निर्माण तथा सेवा विस्तारका कामलाई निरन्तरता दिइने उनको प्रतिबद्धता रहेको जनाइएको छ।
चार करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको क्यान्टिन, कुरुवा घर तथा प्रसुती भवनले प्रादेशिक अस्पताल कलैयाको सेवा स्तरमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। स्थानीयवासीले उक्त योजना शीघ्र कार्यान्वयन गरी निर्माण कार्य समयमै सम्पन्न गर्न समेत सम्बन्धित निकायसँग माग गरेका छन्।



