
बारा , १५ असार
सिम्रौनगढ नगरपालिकामा “स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप २०८१” कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय तहमा अध्ययनरत बालबालिकालाई पोषणयुक्त तथा गुणस्तरीय दिवा खाजा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
सिम्रौनगढ नगरपालिकाको आयोजनामा तथा विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा सम्पन्न कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा शाखाका कर्मचारी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमै उत्पादन हुने कृषि उपजलाई विद्यालय दिवा खाजामा प्रयोग गर्नुपर्ने आवश्यकता, बालबालिकाको पोषण सुधारमा यसको प्रभाव तथा स्थानीय किसानको उत्पादनलाई बजार सुनिश्चित गर्न सकिने विषयमा छलफल गरेका थिए।
अभिमुखीकरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरा, नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू तथा विभिन्न शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालय दिवा खाजा व्यवस्थापन, खाद्य सामग्रीको गुणस्तर, सरसफाइ तथा पोषणयुक्त खानाको महत्वबारे जानकारी दिइएको थियो।
वक्ताहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा विद्यार्थीको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै स्थानीय अर्थतन्त्रसमेत मजबुत हुने बताएका थिए। साथै विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र पारदर्शी ढंगले कार्यान्वयन गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
कार्यक्रमले विद्यालयमा अध्ययनरत बालबालिकाको पोषण अवस्था सुधार गर्न, स्थानीय कृषिजन्य उत्पादनको प्रवर्द्धन गर्न तथा समुदाय र विद्यालयबीच सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



