
सत्येन्द्र प्रताप सिंह
रौतहट , १५ असार
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रौतहट क्षेत्र नं. २ (क) का मधेश प्रदेश सभा प्रत्यासी अफताब आलमले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको सुखद अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यस वर्षको राष्ट्रिय मूल नारा जलवायुमैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धिलाई आत्मसात गर्दै नेता आलमले कृषि क्षेत्रको चौतर्फी विकास र देशको मेरुदण्डका रूपमा रहेका किसानहरूको हकहितका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय धान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रत्यासी आलमले भने किसानको पसिना र अथक मेहनत नै हाम्रो देशको समृद्धिको वास्तविक आधार हो। असार १५ को यस ऐतिहासिक दिनमा देशलाई खाद्य सुरक्षा प्रदान गर्ने सम्पूर्ण मिहिनेती किसानहरूप्रति उच्च सम्मान र समर्थन व्यक्त गर्दछु।

नेपालमा खाद्य सुरक्षाको मुख्य स्रोत धान नै रहेको उल्लेख गर्दै उनले तराई–मधेश र विशेष गरी रौतहट जिल्ला कृषि एवं धान उत्पादनको उर्वर भूमि भएको स्मरण गराए। रौतहटले मुलुकको अन्न भण्डारमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै उनले किसानहरूले भोग्नुपरिरहेका विद्यमान समस्याहरू प्रति गम्भीर चिन्ता समेत व्यक्त गरे।
नेता आलमले भने विगत लामो समयदेखि हाम्रा किसानहरूले समयमा रासायनिक मल उन्नत बिउ-बिजन र पर्याप्त सिँचाइको सुविधा नपाउँदा ठुलो समस्या बेहोर्नुपरेको छ। यो अवस्थाको अन्त्य हुन जरुरी छ। राज्य पक्षबाट अब भाषणमा मात्र नभई व्यवहारमै किसानमैत्री नीति, अनुदान, सहुलियत र आधुनिक जलवायुमैत्री प्रविधिको उचित व्यवस्था हुनुपर्छ।
नेपाली संस्कृतिमा असार १५ लाई दही-चिउरा खाने दिन र मुरी फलाउन मानो रोप्ने विशेष सांस्कृतिक उत्सवका रूपमा उत्साहका साथ मनाइने गरिन्छ। यस ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वको अवसरमा नेता आलमले रौतहट क्षेत्र नं. २ (क) का क्षेत्रवासी, आम नागरिक र किसान वर्गमा सुख, शान्ति, सुस्वास्थ्य र कृषि उत्पादनमा अभूतपूर्व समृद्धिको कामना गरेका छन्।



