
बारा, १९ असार
बाल विवाह रोकथाम तथा अन्त्यका लागि स्थानीय तहबाट प्रभावकारी र कडा कदम चाल्न आवश्यक रहेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार उमेश दुबेले बताएका छन ।
फेटा गाउँपालिका–१ स्थित भलुही कटेजमा आयोजित बाल विवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै दुबेले बाल विवाहका घटना दिनप्रतिदिन बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे । उनले अभिभावकमा अझै पर्याप्त जनचेतनाको अभाव रहेको औंल्याउँदै स्थानीय सरकार, विद्यालय, समुदाय र सरोकारवाला निकायले गम्भीरतापूर्वक अभियान सञ्चालन गरे मात्र यस्ता घटनामा कमी ल्याउन सकिने बताए ।
उनले भने, “बाल विवाह कुनै परम्परा होइन, यो बालअधिकारको उल्लंघन हो । प्रत्येक बालबालिकाले शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्य पाउने अधिकार राख्छन् । त्यसैले बाल विवाह रोक्न परिवार, समुदाय, विद्यालय, स्थानीय सरकार र सम्पूर्ण समाजको साझा जिम्मेवारी छ ।”
दुबेले कानुनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि, अभिभावकको सोचमा सकारात्मक परिवर्तन तथा बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न सके मात्र बाल विवाहमुक्त समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा करिब २ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले बाल विवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा भविष्यमा पर्ने नकारात्मक असरबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गरेका थिए । उनीहरूले बाल विवाह रोकथामका लागि सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा बाल विवाहमुक्त, शिक्षित र सभ्य समाज निर्माणका लागि सबैले आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ ।



