मधेशसमाचार

सिम्रौनगढ नगरपालिकामा प्रशासनिक सक्रियता बढ्दो, प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैं फिल्डमा

बारा १९ असार

लामो समयदेखि विवाद, प्रशासनिक असमझदारी र पटक–पटक हुने तालाबन्दीका कारण चर्चामा रहँदै आएको सिम्रौनगढ नगरपालिकामा पछिल्लो समय प्रशासनिक गतिविधि थप सक्रिय र व्यवस्थित बन्न थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८३ वैशाख २ गतेको निर्णयअनुसार रक्षा मन्त्रालयबाट सरुवा भई आएका उपसचिव नवराज अधिकारीले जेठ २१ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेपछि नगरपालिकाको प्रशासनिक कार्यशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेको हो।

स्थानीयवासी तथा सरोकारवालाहरूका अनुसार नगरपालिकामा लामो समयदेखि देखिएको प्रशासनिक अस्थिरता, कर्मचारीबीचको असमझदारी तथा विकास योजनामा हुने ढिलासुस्तीका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका थिए। तर उपसचिव अधिकारीको आगमनपछि कार्यालयको वातावरण तुलनात्मक रूपमा सहज बन्दै गएको र सेवाप्रवाहमा सुधार देखिन थालेको उनीहरूको भनाइ छ।

उपसचिव अधिकारी नगरपालिकामा हाजिर हुनुअघि प्रशासनतर्फका आठौं तहका कर्मचारी बिरबहादुर साह लहेराले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा करिब पाँच महिनासम्म जिम्मेवारी सम्हालेका थिए। चुनौतीपूर्ण परिस्थितिमा पनि उनले संयमता, पारदर्शिता र समन्वयात्मक शैली अपनाएर दैनिक प्रशासन सञ्चालन गरेको कर्मचारीहरू बताउँछन्।

नगरपालिकामा अनुभवी प्रशासनिक अधिकृतका रूपमा परिचित नवराज अधिकारीको आगमनसँगै कर्मचारीबीच समन्वय, अनुशासन र सुशासनलाई प्राथमिकता दिइएको देखिन्छ। आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत अधिकारी बिहानदेखि बेलुकासम्म स्वयं फिल्डमा पुगेर विभिन्न विकास योजनाको अनुगमन गरिरहेका छन्।

विशेषगरी आर्थिक मसान्तअघि योजनाको भुक्तानी प्रक्रिया तीव्र भइरहेका बेला निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहोस् भन्ने उद्देश्यले अधिकारी स्वयं स्थलगत अनुगमनमा सक्रिय रहेको जनाइएको छ। नगरपालिकाभित्र सञ्चालित सडक, नाला, भवन तथा अन्य पूर्वाधार योजनाको प्रगति, गुणस्तर र वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनी नियमित रूपमा फिल्डमा खटिने गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले “राज्यभन्दा माथि कोही हुँदैन” भन्ने मान्यताका आधारमा विकास निर्माणका काम पारदर्शी, दिगो र गुणस्तरीय हुनुपर्नेमा जोड दिएका छन्। उनले आर्थिक वर्षको अन्त्यमा हतारमा हुने कामले गुणस्तरमा असर पर्न नदिन आफूले प्रत्यक्ष निगरानी बढाएको बताएका छन्।

उनले विकास योजनामा हुने ढिलासुस्ती, कमजोर निर्माण तथा प्रक्रियागत त्रुटि रोक्न अनुगमनलाई प्रभावकारी बनाइएको उल्लेख गर्दै जनताको करबाट सञ्चालन हुने योजनामा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पारे।

नगरपालिकाका कर्मचारीहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कार्यालयभित्र नियमित बैठक, कार्यविभाजन र जिम्मेवारी स्पष्ट बनाउने कामलाई पनि तीव्रता दिएका छन्। यसले कर्मचारीहरूमा कामप्रतिको उत्तरदायित्व बढ्नुका साथै सेवा प्रवाहमा सुधार आएको उनीहरूको भनाइ छ।

स्थानीयवासीले पनि पछिल्लो समय नगरपालिकामा प्रशासनिक स्थायित्व देखिन थालेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार विकास निर्माणका काममा प्रत्यक्ष अनुगमन र कडाइ बढेपछि गुणस्तरहीन काम गर्ने ठेकेदार तथा उपभोक्ता समितिमाथि दबाब सिर्जना भएको छ।

लामो समयदेखि विवाद र अस्थिरताको छायामा रहेको सिम्रौनगढ नगरपालिकामा अहिले देखिएको प्रशासनिक सक्रियता र फिल्डकेन्द्रित नेतृत्वले सुशासन र प्रभावकारी सेवा प्रवाहतर्फ सकारात्मक संकेत दिएको सरोकारवालाहरूको बुझाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button