
कलैया, २१ असार
राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा खटिएका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्र वितरणसहित सम्मान गरिएको छ। जिल्ला आर्थिक गणना कार्यालय, बाराले शनिबार आयोजना गरेको कार्यक्रममा गणना कार्य सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याएका ६६ जना गणक र ९ जना सुपरिवेक्षकलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले राष्ट्रिय आर्थिक गणना–२०८२ जस्तो महत्वपूर्ण अभियानलाई सफल बनाउन गणक तथा सुपरिवेक्षकहरूले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताए। उनले प्रतिकूल मौसम, समयको चाप तथा विभिन्न चुनौतीका बीच पनि जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्दै अभियानलाई सफल बनाउन सबैले उल्लेखनीय योगदान दिएको उल्लेख गरे।
दासका अनुसार नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिएको थियो। उक्त गणनाअन्तर्गत देशभर २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क सङ्कलन गरिएको उनले जानकारी दिए।
उनका अनुसार बारा जिल्लामा मात्रै २१ हजार ६९७ वटा व्यवसाय तथा प्रतिष्ठानको स्थलगत गणना सम्पन्न गरिएको छ। आर्थिक गणनामार्फत जिल्लाका उद्योग, व्यापार, सेवा तथा अन्य आर्थिक गतिविधिसम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरेको आर्थिक गणनाको उद्देश्य मुलुकभर रहेका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानसम्बन्धी तथ्याङ्क संकलन गर्नु रहेको बताइएको छ।
यस गणनाबाट प्राप्त तथ्याङ्क संघ, प्रदेश तथा स्थानीय तहका सरकारलाई नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।



