
बारा, २२ असार
बारा जिल्लाको पचरौता नगरपालिका–१ स्थित नेपाल–भारत सीमाना नजिक जमुनिया खोलाको किनारमा एक पुरुषको वेवारिसे शव फेला परेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शुक्रबार साँझ करिब ७ः४० बजे प्रहरी चौकी पिपरपाती बारालाई सीमास्तम्भ नम्बर ३६३/३० बाट करिब १५४ फिट पश्चिम–उत्तर दिशामा शव रहेको जानकारी दिएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक समसुदिन मिया तेलीको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा SOCO टोली तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको कमाण्डमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार अन्दाजी ३३ देखि ३५ वर्ष उमेरका पुरुषको शव हालसम्म पहिचान खुल्न नसकेको अवस्थामा फेला परेको हो। घटनास्थलमा मुचुल्का कार्य सम्पन्न गरी राति करिब १०ः३५ बजे शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



