
कलैया , २२ असार
यातायात व्यवस्था कार्यालय, बाराले कार्यालय प्रमुख चितन आचार्यसँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे औपचारिक स्पष्टिकरण दिएको छ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना २०८२ साल फागुन महिनामा कार्यालयभित्र भएको उल्लेख गर्दै आफू पत्रकार भएको परिचय दिएका केही व्यक्तिहरू कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गर्ने, अपशब्द प्रयोग गर्ने तथा नियमित कार्यसम्पादनमा अवरोध पुर्याउने गतिविधि गरेपछि सामान्य विवाद उत्पन्न भएको जनाएको छ।
विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई सानो अंश मात्र सम्पादन गरी राखिएको हुँदा त्यसकै आधारमा घटनाको वास्तविकता बुझ्न कठिन रहेको दाबी गरिएको छ। साथै, घटनापछि दुवै पक्षबीच छलफल भई मिलापत्रसमेत भइसकेको कार्यालयले जनाएको छ।
कार्यालयले कार्यालय प्रमुख वा कर्मचारीहरूको कुनै पनि उद्देश्य सेवाग्राहीमाथि दुर्व्यवहार गर्ने नभएको स्पष्ट पार्दै कार्यालयको शान्ति, सुरक्षा र नियमित सेवा प्रवाहलाई कायम राख्ने कार्यमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेको छ। साथै, आवश्यक अनुसन्धान वा छानबिनका लागि सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
कार्यालयले अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा भ्रम फैलाउने तथा कार्यालय र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासमक्ष अनुरोध गरेको छ।
यातायात व्यवस्था कार्यालय, बाराले सदैव कानुनी परिधिभित्र रही सेवाग्राहीलाई सरल, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।



