
सत्येन्द्र प्रताप सिंह
रौतहट २४ असार
जिल्लाको ईशनाथ नगरपालिकामा जग्गा सम्बन्धी पुरानाे विवाद बल्झिँदा एक वृद्धको बीभत्स हत्या भएको छ। ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा मंगलबार राति दुई पक्षबीच भएको उग्र झडपका क्रममा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको हो भने अर्का एक वृद्ध गम्भीर घाइते भएका छन्।
प्रहरी र स्थानीय स्रोतका अनुसार मंगलबार राति करिब ८:१५ बजेको समयमा स्थानीय ८० वर्षीय रामबहादुर साह र उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साहको, छिमेकी ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहसँग जग्गाको विषयलाई लिएर भनाभन भएको थियो। सामान्य विवादले उग्र रूप लिँदै गएपछि दुवै पक्षबीच कुटपिट सुरु भएको थियो। सोही क्रममा आक्रोशित बनेका २६ वर्षीय राममहेश्वर साहले बुटन साहमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए।
चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। रक्ताम्य अवस्थामा रहेका साहलाई स्थानीय र आफन्तको सहयोगमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले अथक प्रयास गर्दापनि उनलाई बचाउन सकेनन्। उनको राति करिब ९:०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल गौरले जनाए ।
सोही घटनामा परी अर्का वृद्ध ८० वर्षीय रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते साहको स्थानीय मेडिकलमा प्राथमिक उपचार भइरहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य र खतरामुक्त रहेको प्रहरीले जनाए ।
घटनाको जानकारी पाउन लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहट र स्थानीय प्रहरी चौकीबाट खटिएको विशेष प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चक्कु प्रहार गर्ने मुख्य आरोपी २६ वर्षीय राममहेश्वर साह र झैँझगडामा संलग्न उनका बुबा ६३ वर्षीय रामऔतार साहलाई घटनास्थल आसपासबाटै पक्राउ गरीएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जनाए । पक्राउ परेका बाबु-छोरामाथि ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी घटनाको गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। सामान्य जग्गा विवादले उग्र रूप लिँदा छिमेकीकै हातबाट वृद्धको ज्यान गएपछि अहिले औरैया गाउँ शोक र आक्रोशमा डुबेको छ।



