
बारा , २४ असार
आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन एक दिन मात्र बाँकी रहँदा अधिकांश स्थानीय तह भुक्तानी प्रक्रिया टुंग्याउने चटारोमा व्यस्त रहेका बेला सिम्रौनगढ नगरपालिकाले भने विकास योजनाको गुणस्तर सुनिश्चित गर्न स्थलगत अनुगमनलाई प्राथमिकता दिएको छ।
बुधबार नगर उपप्रमुख नजमु शेहर र प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) नवराज अधिकारीको नेतृत्वमा नगरपालिकाले विभिन्न वडा तथा विकास योजनाको स्थलगत अनुगमन गरेको हो।
अनुगमन टोलीले वडा नं. ८ स्थित श्री जनता माध्यमिक विद्यालय, कचोर्वा मा निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्दै निर्माणको गुणस्तर, प्रगति, प्रयोग भएका निर्माण सामग्री तथा सम्झौताअनुसार काम भए–नभएकोबारे जानकारी लिएको थियो। विद्यालय भवन समयमै सम्पन्न गरी विद्यार्थीलाई सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण उपलब्ध गराउन निर्देशनसमेत दिइएको बताइएको छ।
त्यसैगरी टोलीले वडा नं. ५ सानो इट्वामा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएका वडा स्तरीय चापाकल योजनाको समेत अनुगमन गरेको थियो। जडान गरिएका चापाकलको सञ्चालन अवस्था, पानीको उपलब्धता तथा स्थानीयले पाएको सुविधाबारे प्रत्यक्ष अवलोकन गरी आवश्यक सुधारका लागि सम्बन्धित पक्षलाई सुझाव दिइएको थियो।
यसका साथै नगरभित्र सञ्चालन भइरहेका सडक, नाला, भवन निर्माण, खानेपानी तथा अन्य पूर्वाधार विकास योजनाको समेत स्थलगत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा योजनाहरूको भौतिक प्रगति, निर्माणको गुणस्तर, लागत अनुमानअनुसार काम भए–नभएको तथा समयमै सम्पन्न गर्ने विषयमा निर्माण व्यवसायी, उपभोक्ता समिति र प्राविधिकहरूसँग छलफल गरिएको थियो।
आर्थिक वर्षको अन्तिम समयमा धेरै स्थानीय तहमा कागजी प्रक्रिया र भुक्तानीलाई मात्र प्राथमिकता दिने प्रवृत्ति देखिने गरे पनि सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारी भने फिल्डमै पुगेर योजनाको गुणस्तर परीक्षणमा सक्रिय देखिएपछि स्थानीयवासीले यसको खुलेर प्रशंसा गरेका छन्।
स्थानीयका अनुसार बजेट खर्च गर्न हतारिनेभन्दा विकास योजनाको गुणस्तर सुनिश्चित गर्न गरिएको स्थलगत अनुगमनले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। अनुगमनले निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई पनि गुणस्तरीय काम गर्न थप जिम्मेवार बनाउने उनीहरूको भनाइ छ।
नगर उपप्रमुख नजमु शेहरले सार्वजनिक बजेटबाट सञ्चालन हुने हरेक योजना नागरिकको हितसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारिन्। प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले पनि आर्थिक वर्षको अन्तिम समयमा भए पनि योजनाको प्रभावकारिता र दिगोपनालाई प्राथमिकतामा राखेर अनुगमनलाई निरन्तरता दिइएको बताए।
स्थानीयवासीले नगर नेतृत्वको यस्तो सक्रियता विकास निर्माणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि योजनाको सुरुदेखि अन्तिम चरणसम्म नियमित अनुगमन र मूल्याङ्कनलाई निरन्तरता दिन आग्रह गरेका छन्।



