मधेशसमाचार

सिम्रौनगढ नगरपालिकामा विवादरहित रूपमा सम्पन्न भयो चालु आर्थिक वर्षको भुक्तानी

बारा, २५ असार

विगतका आर्थिक वर्षहरूमा भुक्तानी प्रक्रिया, योजनाको अन्तिम किस्ता वितरण तथा आर्थिक पारदर्शिताका विषयमा पटक–पटक विवादमा तानिँदै आएको सिम्रौनगढ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी प्रक्रिया भने शान्तिपूर्ण, व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
नगरपालिकाका अनुसार आर्थिक वर्षको अन्तिम समयमा हुने चापका बीच पनि प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेरा तथा लेखा प्रमुख मनिष साह कलवारको समन्वय र सहकार्यमा भुक्तानी प्रक्रिया व्यवस्थित ढंगले सम्पन्न भएको हो।
विगतमा भुक्तानीका क्रममा सेवाग्राहीको भीड, विवाद, आरोप–प्रत्यारोप तथा विभिन्न पक्षबीच उत्पन्न हुने असहज अवस्थाले नगरपालिकाको छवि प्रभावित हुँदै आएको थियो। तर यस वर्ष आवश्यक कागजातको परीक्षण, योजनाको प्रगति मूल्याङ्कन तथा कानुनी प्रक्रिया पूरा गरी भुक्तानी गरिएकाले कुनै उल्लेखनीय विवाद सिर्जना नभएको नगरपालिकाका कर्मचारीहरूले बताएका छन्।
नगरपालिकाले आर्थिक अनुशासन, पारदर्शिता र जिम्मेवारीलाई प्राथमिकता दिँदै योजनाअनुसारका भुक्तानी समयमै सम्पन्न गर्न सफल भएको जनाएको छ। सम्बन्धित शाखाबीच प्रभावकारी समन्वय भएका कारण सेवाग्राहीले पनि सहज रूपमा सेवा प्राप्त गरेको बताइएको छ।
स्थानीय सरोकारवालाले यस वर्ष भुक्तानी प्रक्रिया विगतको तुलनामा व्यवस्थित देखिएको प्रतिक्रिया दिएका छन्। आर्थिक वर्षको अन्तिम समयमा पनि शान्तिपूर्ण वातावरण कायम राख्दै काम सम्पन्न हुनु नगरपालिकाका लागि सकारात्मक सन्देश भएको उनीहरूको भनाइ छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र सेवाग्राहीमैत्री प्रशासनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button