गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती एक जुगमा जन्मिएको एउटा अग्लो मान्छे

डा. शोभाकर पराजुली
नेपालमा २०६२/०६३को बसन्त क्रान्तिको सफलतापछि गिरिजाबाबु भन्ने गर्नुहुन्थ्यो- एक जुगमा एक दिन एकचोटी आउँछ…।
त्यही एक जुगले नेपाली धरतीमा एकचोटी जन्माएको एउटा अग्लो राजनीतिज्ञ हो, गिरिजाप्रसाद कोइराला। जो नेपाली राजनीतिको संसारमा गिरिजाबाबुको नामले पनि सम्बोधित हुन्छ। यो एउटा त्यस्तो नाम हो जो कैयौं इतिहासको साक्षी बन्दै आफैमा एउटा सिङ्गो इतिहास बन्न सक्यो। नेपाली राजनीतिको इतिहासमा एउटा स्वर्णपाना लेखेको कोइराला परिवारको एक बलियो हाँगा बनेर जन्मिएका गिरिजाबाबु अन्तत: नेपाली राजनीतिको एउटा सिङ्गो रुख बन्नुभयो। जहाँ सिङ्गो नेपाली राजनीति ओत लाग्यो।
गिरिजाबाबुको राजनीतिक उत्कर्षदेखि जीवनको अन्तिम समयसम्म पनि सँगसँगै रहेर काम गर्ने अवसर पाएका नाताले लेखकसँग धेरै त्यस्ता स्मरणहरू छन्। जसलाई मैले उहाँको सम्झनामा धेरैपटक बखान गरिसकेको छु।
आज नेपाली राजनीतिको त्यही एउटा अग्लो मान्छे जन्मिएको दिन अर्थात् वि.सं १९९८ असार १८ गते भारतको दीप नगरमा कोइराला परिवारको एउटा हाँगो जन्मियो अर्थात् गर्भको त्यही ‘गिरिजा’ । त्यो मात्र एउटा कोखको गर्भ थिएन बरु त्यो नेपाली राजनीतिको एउटा यस्तो शिखर बन्यो जसलाई छुनका लागि अझै कैयन् युग पर्खिनुपर्ने हुन्छ। राणा शासनको कोपभाजनमा परेर त्यो बेला कोइराला परिवार नै भारतमा निर्वासित जीवन बिताइरहेको थियो। कृष्णप्रसाद र दिब्या पनि आफ्ना सारा परिवारका साथ भारतमै थिए, हालको विहार सुपौलमा। ‘देशद्रोह’ अभियोग भिराएर त्यो बेला निर्वासित गरिएका कृष्णप्रसादहरूलाई राणाहरू फेरि देश फर्किने अनुमति दिए। देश फर्किएपछि उहाँले आफ्नै ठाउँमा एउटा विद्यालय पनि स्थापना गर्नुभयो । ‘आदर्श’ स्कुल देशकै पहिलो हो। त्यहीँ नै गिरिजाबाबुको शिक्षारम्भ भयो। सामान्य शैक्षिक जीवन बिताएका गिरिजाबाबुको राजनीतिक जीवन भने ‘अद्वितीय’ रह्यो ।
किशोरावयले छुँदै गर्दा राजनीतिक चेतले भरिइसकेका गिरिजाबाबु आफ्ना दाजु विशेश्वरप्रसाद कोइराला(बीपी)को राजनीतिक दीक्षाले अझ परिपक्व भइसक्नुभएको थियो। विराटनगरको जुट मिलमा एक सामान्य मजदुरका रुपमा सार्वजनिक जीवन सुरु गर्नुभएका गिरिजाबाबु त्यही मिलमा भएको एउटा मजदुर विद्रोहबाट राजनीतिको बाटोमा डोरिनुभयो। मिल मालिकहरूसँग मजदुरका हकहितका बारेमा आवाज उठाउन थालेपछि त्यहाँका आवाजविहीन मजदुरहरूले उहाँलाई आफ्नो नेता मानिसकेका थिए। गर्भरचनामा अरु नै भए पनि २००३ साल फागुन २१ गते त्यो मिलमा सुरु भएको मजदुर आन्दोलनको अगुवा गिरिजाबाबु नै हुनुहुन्थ्यो।
यो मिलका मात्रै होइन विराटनगर भरिका हजारौँ मजदुर उहाँकै अगुवाइमा आन्दोलित भए। खासमा मजदुरका हकहितका कुरा उठाइए पनि त्यो आन्दोलन राणा शासकहरूका लागि एउटा चोटिलो झापड बन्यो। त्यही बेलै बिपी, मनमोहनहरूसँगै गिरिजाबाबु पनि गिरफ्तार हुनुभयो। र, उहाँहरूलाई ‘अड्डा’ सार्दै सार्दै काठमाडौँ पुर्याइयो। पहिलो पटकमै उहाँले तीन वर्ष जेल जीवन बिताउनुभयो।
कार्यकर्तालाई सङ्गठित राखिरहनसक्ने क्षमता विकास गरिसक्नुभएका गिरिजाप्रसादले नेपालमात्रै होइन भारत तथा भुटानमा भएका आन्दोलनहरूमा पनि नेतृत्वदायी भूमिका निभाउनुभएको थियो राणा शासनविरुद्ध २००७ सालमा भएको नेपाली कांग्रेसले सुरु गरेको हतियारसहितको ‘जनक्रान्ति’को एक कमाण्डर गिरिजाबाबु पनि हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा नेपाली काँग्रेसको ‘मुक्ति सेना’ दोस्रो प्रयासमा विराटनगर ‘कब्जा’ गरेको थियो। राजाले जेल हालेपछि उहाँले जेलभित्रै आमरण अनसन गर्नुभएको थियो भारतका महात्मा गान्धीको जीवन र सिद्धान्तबाट प्रभावित हुनुभएका गिरिजाबाबु कलिलै उमेरदेखि आफ्नो संकल्पमा यतिसम्म हठी हुनुहुन्थ्यो कि त्यसका लागि उहाँले ज्यानमात्रै होइन ‘सबकुछ’ दाउमा राख्नुहुन्थ्यो । अन्ततः उहाँलाई २१ दिनपछि जेलमुक्त गरिएको थियो ।
विस.२०३४ सालमा नेपाली कांग्रेसमा महामन्त्रीको जिम्मेवारी लिएर उहाँले पार्टीको सङ्गठनलाई निकै सक्रिय बनाउनुभयो। निर्वासित रहेकै बेला उहाँले पार्टीको आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन बलियो बनाइसक्नुभएको थियो । २०३७ साल वैशाखमा उहाँ नेपाल फर्किएर फेरि देशभरि पार्टी र सङ्गठनलाई अझ सुदृढ अनि बलियो बनाउने अभियान छेड्नुभयो । जीवनको अन्तिम क्षणमा बिपी कोइरालाले आफ्ना नजिकका मित्रहरूसँग भन्नुभएको थियो ‘कृष्णप्रसाद भट्टराईको जस्तो नीति, गणेशमानको जस्तो त्याग अनि गिरिजाजस्तो सङ्गठनकर्ता भए नेपाली कांग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र चाँडै नै आउनेछ ।’
विसं २०३९ सालमा स्वर्गीय हुनुभएका महामानव बिपीले भनेजस्तै २०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायत ढालेको थियो र देशमा फेरि प्रजातन्त्रको उज्यालो छरिएको थियो । त्यसको कमाण्डर गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादहरू नै हुनुहुन्थ्यो । २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालमा प्रजातान्त्रिक संविधान जारी भयो। त्यसपछि २०४८ मा भएको आम निर्वाचनमा गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट अत्यधिक मतका साथ विजयी हुनुभयो र नेपाली कांग्रेसको संसदीय दलको नेता पनि बन्नुभयो । त्यसपछि २०४८ साल जेठ १२ गते उहाँ देशको प्रधानमन्त्री बन्नुभयो । तीस वर्षे पञ्चायतपछि प्रजातन्त्रकालमा चुनाव जितेर प्रधानमन्त्री बन्ने सौभाग्य गिरिजाबाबुको थियो ।
माओवादी द्वन्द्व सुरु भएसँगै देश फेरि गृहयुद्धको बाटोमा जाँदै थियो । यता दलहरूबीचको कलह पनि उत्कर्षमा पुगिरहेको थियो। पार्टीहरू आफ्नै नेतृत्वको सरकार ढाल्न र बनाउन उद्यत थिए । एकले अर्कोलाई लछार्न अनि पछार्न लागिपरेका थिए उता जङ्गलमा माओवादीले युद्धको सनही अझ तेज पार्दै थियो। अविश्वासको मत, प्रतिनिधिसभाको विघटन, पार्टीको आन्तरिक विभाजन अनि अल्पमत र बहुमतका सरकारहरू पनि यही बेलाका परिघटना थिए । मध्यावधि निर्वाचनको नियति पनि मुलुकले भोग्नुपर्यो । माओवादी युद्धका कारण दलीय दूरी त बढेकै थियो त्यसमा दरबार पनि ‘भिलेन’ बनेर उभिन थाल्यो ।
विसं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड देशमा अर्को उथलपुथलको एउटा ‘टर्निङ प्वाइन्ट’ बनिदियो । ज्ञानेन्द्र शाहले सत्ताशक्ति आफ्नो हातमा लिनासाथ माओवादीले आफ्नो युद्धको गति अझ तेज र विस्तार गरिरहेको थियो । २०५८ साल मङ्सिर ८ गते दाङमा सैनिक ब्यारेकमाथि आक्रमण गरेर माओवादीले दरबारविरुद्ध सिधा धावा बोलेको थियो । मङ्सिर ११ गते तत्कालीन शेरबहादुर देउवाको सरकारले सङ्कटकाल घोषणा ग¥यो ।
त्यसबाट नेपाली कांग्रेसभित्रको आन्तरिक कलह झन् उत्कर्षमा पुग्यो । सङ्कटकाल थप गर्ने विषयमा भएको आन्तरिक मतभेदले प्रतिनिधिसभाको विघटनमात्रै भएन बरु नेपाली कांग्रेसको बाटो नै फाट्यो । शेरबहादुर देउवाले कांग्रेसका केही नेताहरू लिएर नयाँ पार्टी बनाउनुभयो । राजनीतिक घटनाक्रमहरू यत्तिमै सिमित रहेनन् । तत्कालीन युद्धरत माओवादीले रोल्पाको होलेरी बन्धक बनाएका केही सुरक्षाअधिकारीहरूलाई छुटाउनका लागि सैनिक परिचालनको अनुमति माग्दा राजा वीरेन्द्रले अपमान गरेर फर्काएपछि नै गिरिजाबाबु र दरबारबीचको मनमुटाव अझ चर्किएको थियो ।
राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गरेपछि अन्योलपूर्ण अवस्थामै गिरिजाबाबुले ‘राजतन्त्र’ जान्छ भनिसक्नुभएको थियो । त्यसका लागि उहाँले मूलधारमा रहेका संसदीय दलहरूमात्रै होइन जङ्गलमा युद्ध गरिरहेको माओवादीसँग समेत भित्री सहमति गरिसक्नुभएको थियो। संसद्बिना सरकार र व्यवस्था प्रजातान्त्रिक नहुने भन्दै संसद् पुनःस्थापनालाई ‘बटम लाइन’ बनाएर गिरिजाबाबु सबै राजनीतिक दलको साथ लिँदै २०६० वैशाख अन्तिमतिर आफै सडकमा ओर्लिनुभयो ।
यो आन्दोलनलाई सबै राजनीतिक दल र माओवादीको पनि नैतिक समर्थन थियो। २०६२ सालको अन्तिमतिर आन्दोलनको उत्कर्षमा त माओवादी पनि अरू दलहरूसँगै मिसिएर सडक आन्दोलनमा आइसकेको थियो । माओवादीसहित सारा राजनीतिक दल अनि लाखौँ जनताले दरबार घेर्न थालेपछि २०६३ साल वैशाख ८ गते राजा ज्ञानेन्द्रले एउटा शाही घोषणा गरे । यो घोषणामा राजा ज्ञानेन्द्रले आफूले सत्ता छोडेको घोषणा गरेका थिएनन् । सात दलको आन्दोलन त्यत्तिकैमा रोकिएन । बरु दलहरूले अझ सशक्त आन्दोलनको घोषणा गरे। गिरिजाप्रसाद कोइरालाको व्यक्तित्वको सबैभन्दा चम्किलो र ऐतिहासिक रूप यही आन्दोलनका बेला देखिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि देश चरम राजनीतिक संकटमा फसेको थियो। एकातिर हिंसात्मक माओवादी विद्रोह र अर्कोतिर निरंकुश राजतन्त्रको चेपुवामा देश परेका बेला ८० वर्ष नाघिसकेका गिरिजाबाबुले देशको कमान्ड सम्हाल्नुभयो।
अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । संसद् पुनःस्थापना भयो । त्यसमा सबै दलहरूले सहमति गरेर माओवादीलाई पनि संसदमा भित्र्याउने सहमति भइसकेको थियो । आखिरमा गिरिजाबाबुले आफ्नो अठोट पूरा गरेरै छोड्नुभयो । त्यो बेला गिरिजाबाबुले नचाहेको भए, माओवादीको युद्ध के हुन्थ्यो अनि देशको अवस्था के हुन्थ्यो होला ? त्यो परिस्थितिको आकलन नै गर्न निकै कठिन हुन्छ । २०६२÷०६३ मा सडक आन्दोलन सुरु हुनुअघि नै गिरिजाप्रसादले नै पहल गरेर माओवादीसहित सबै राजनीतिक दलहरूबीच १२ बुँदे सम्झौता भइसकेको थियो ।
संसद् पुनःस्थापना भएपछि गिरिजाबाबु फेरि एकपटक देशको प्रधानमन्त्री बन्नुभयो । यो भने अन्तरिम सरकार थियो अनि गिरिजाबाबुको राजनीतिक जीवनको अन्तिम इनिङ पनि यही नै बन्यो। उहाँकै नेतृत्वमा २०६४ सालमा नेपालको इतिहासमै पहिलोपटक संविधानसभाको निर्वाचन भयो । यही संविधानसभाले ‘जनताको गणतान्त्रिक संविधान’का रुपरेखाहरू कोर्न सुरु गर्यो र दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गर्यो । भलै गिरिजाबाबुले यो दिन देख्न पाउनु भएन तर जसरी देशका ऐतिहासिक मोडहरूमा नेतृत्व सम्हाल्न नेपाली कांग्रेसमात्रै अघि लाग्यो यो संविधान पनि कांग्रेसकै अगुवाइमा जारी भयो । संविधान जारी हुने बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो ।
गिरिजाबाबु जति बाँच्नुभयो पूर्ण राजनीतिक जीवन नै बाँच्नुभयो । सारा व्यक्तिगत जीवनलाई उहाँले राष्ट्र र प्रजातन्त्रकै लागि समर्पित गर्नुभयो । अनि त्यसकै खातिर बाँच्नुभयो । सङ्घर्ष, प्रजातन्त्र अनि राजनीति नै उहाँको जीवन सिद्धान्त बने । तर राजनीतिक जीवनको सुरुआतदेखि जीवनको अन्त्यसम्म पनि राजनीतिको कोपभाजनले उहाँलाई पछ्याइरह्यो ।
पार्टीभित्रैको आन्तरिक राजनीतिक चक्रदेखि दलीय राजनीतिको व्यूहसम्मको नियतिमा बाँच्नुभएका गिरिजाबाबुको एउटा सपना भने पूरा हुनै पाएन त्यो थियो– गणतान्त्रिक मुलुकको राष्ट्रपति । बिथोलिएको त्यो सपनाका पछि देशीय अनि अन्तर्राष्ट्रिय कारणहरू थिए जो बिस्तारै बाहिर आउँदैछन् । बेलाबेला गिरिजाबाबुको सम्झनामा ओकलिने पछुतोहरू त्यसैका परिणाम हुन् । तर जे भए पनि त्यो सङ्क्रमणकालीन अर्थात् अन्तरिमकालमा भने गिरिजाबाबु ‘हेड अफ द स्टेट’कै हैसियतमा रहनुभयो ।
अहिले पनि गिरिजाबाबुले राजनीतिको मूलबाटोमा ल्याएर हिँडाउनु भएका कतिपय राजनीतिक सहयात्रीहरू सत्ता र शक्तिमै हुनुहुन्छ । बेलामा उहाँहरूले गिरिजाबाबुका बारेमा गुणगान गाउनु हुन्छ । तर उहाँसँग गरिएका प्रतिबद्धताहरूबाट धेरै पर पुगिसक्नुभएको छ । त्यो बेला गिरिजाबाबु साँच्चिकै देशको पहिलो राष्ट्रपति भएको भए सायद देशको अवस्था अलि फरक हुनसक्थ्यो । देशले अझ राम्रो विकासको गति पाउने थियो । यद्यपि गिरिजाबाबु विचलित हुनु भएन । बरु राजनीतिक परिस्थितिका उपजहरूलाई स्वीकार गररै जीवनभरि रहनुभयो ।
गिरिजाबाबुले बाँचेको त्यो निकै अग्लो कद अझ युगीन रहनेछ । र, युगौँयुगसम्म गिरिजाबाबु नेपाली राजनीतिको त्यही अग्लो शिखर बनेर नेपालको राजनीतिक इतिहासमा बाँचिरहनुहुनेछ। गिरिजाप्रसाद कोइराला केवल एक व्यक्ति हुनुहुन्नथ्यो, उहाँ आफैँमा एउटा संस्था र इतिहास हुनुहुन्थ्यो। आज देशले प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र, शान्ति प्रक्रिया र संविधान सभाको जग कोइरालाकै दृढ संकल्पमा उभिएको छ। गिरिजाबाबुले देखाउनुभएको सहमति र सहकार्यको बाटोलाई आत्मसात् गर्नु र लोकतन्त्रलाई संस्थागत गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। उहाँको अभाव आज पनि नेपाली राजनीतिमा खड्किरहेको छ र भविष्यका पुस्ताका लागि उहाँको जीवनी सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।
हार्दिक श्रद्धाञ्जली गिरिजाबाबु।



