मधेशसमाचार

पटक–पटक प्रमुख फेरिए पनि पूर्वाधार विकास कार्यालय बारामा अन्तिम समयमा बजेट खर्चमा सुधार

पटक–पटक प्रमुख फेरिए पनि पूर्वाधार विकास कार्यालय बारामा अन्तिम समयमा बजेट खर्चमा सुधार

कलैया, २८ असार

चालु आर्थिक वर्षमा पटक–पटक कार्यालय प्रमुख परिवर्तन हुँदा अधिकांश विकास योजना प्रभावित बनेको बारा जिल्लाको पूर्वाधार विकास कार्यालयले आर्थिक वर्षको अन्तिम चरणमा बजेट कार्यान्वयनमा उल्लेख्य सुधार गरेको छ। कार्यालय प्रमुख ओमकुमार साहले दोस्रो पटक जेठ २५ गतेदेखि जिम्मेवारी सम्हालेपछि करिब एक महिनाको अवधिमै कार्यालयले करिब ४५ प्रतिशत बजेट खर्च गर्न सफल भएको जनाएको छ।

कार्यालय प्रमुख साहका अनुसार चालु आर्थिक वर्षभित्र मात्रै पूर्वाधार विकास कार्यालय बारामा आफू सहित ६ पटक कार्यालय प्रमुख परिवर्तन भएको थियो। नेतृत्वमा निरन्तर अस्थिरता, निर्णय प्रक्रियामा ढिलाइ तथा योजनाको अनुगमन प्रभावित हुँदा अधिकांश विकास आयोजनाको काम समयमै अघि बढ्न सकेन।

“कार्यालय प्रमुख नै पटक–पटक परिवर्तन हुने अवस्था रह्यो। जिम्मेवारी तोकिएका केही अधिकारीसमेत नियमित रूपमा कार्यालयमा उपस्थित हुन नसक्दा योजना कार्यान्वयन प्रभावित भयो। यद्यपि जेठ २५ गतेदेखि पुनः जिम्मेवारी सम्हालेपछि सीमित समय र धेरै चुनौतीका बीच भौतिक पूर्वाधार तथा विकास मन्त्री महम्मद समिरको आवश्यक सहकार्य र कर्मचारीको सक्रियताले ४५ प्रतिशत बजेट खर्च गर्न सफल भयौं,” प्रमुख साहले बताए।

कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको सुरुआतदेखि असोज ९ गतेसम्म रिम्पु कुमारी यादवले करिब चार महिना निमित्त प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। त्यसपछि सञ्जय कुमार यादव २१ दिन कार्यालय प्रमुख बने। त्यसपश्चात ओमकुमार साहले करिब ६ महिना अर्थात् चैत १० गतेसम्म कार्यालयको नेतृत्व गरे। त्यसपछि राजेन्द्र साहले २० दिन, हेमन्त गाँईले करिब एक महिना जिम्मेवारी सम्हालेका थिए। अन्ततः जेठ २५ गतेदेखि पुनः ओमकुमार साह कार्यालय प्रमुखका रूपमा फर्किए।

स्थानीय सरोकारवालाहरूका अनुसार एउटै आर्थिक वर्षमा पटक–पटक नेतृत्व परिवर्तन हुनु विकास प्रशासनका लागि दुर्भाग्यपूर्ण अवस्था हो। यसले योजनाको निर्णय, ठेक्का व्यवस्थापन, भुक्तानी प्रक्रिया र अनुगमनमा प्रत्यक्ष असर पार्दै जिल्लाको समग्र विकासलाई पछाडि धकेलेको उनीहरूको भनाइ छ।

कलैयाका स्थानीय समाजसेवी रामबाबु यादव भन्छन्, “नेतृत्व स्थिर नभएकै कारण धेरै योजना समयमै अघि बढ्न सकेनन्। तर अन्तिम समयमा ओमकुमार साह आएपछि कामले गति लियो। छोटो अवधिमा पनि बजेट खर्च बढाउनु सकारात्मक उपलब्धि हो।”

निर्माण व्यवसायी सन्तोष साहको भनाइ पनि उस्तै छ। “अन्तिम समयमा कार्यालयले भुक्तानी प्रक्रिया र योजनाको फाइल अघि बढाएपछि धेरै काम सम्पन्न हुन सके। यदि वर्षभर स्थायी नेतृत्व भएको भए अझ धेरै बजेट खर्च हुने र विकासका काम पनि समयमै सम्पन्न हुने थिए।”

स्थानीय बुद्धिजीवीहरूको भनाइमा प्रशासनिक अस्थिरताले बारा जिल्लाको विकासमा ठूलो क्षति पुगेको भए पनि अन्तिम समयमा कार्यालय प्रमुख ओमकुमार साहको सक्रियता, कर्मचारीको समन्वय र मन्त्रालयको सहकार्यका कारण केही हदसम्म बजेट कार्यान्वयनमा सुधार आएको देखिएको छ।

स्थानीयवासीहरूले आगामी आर्थिक वर्षदेखि कार्यालयमा स्थिर नेतृत्व, समयमै योजना सञ्चालन तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइमा नेतृत्व स्थायित्व कायम गर्न सके विकास योजनाले अपेक्षित गति लिने र सार्वजनिक लगानीको प्रतिफलसमेत बढ्ने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button