मधेशसमाचार

नवविवाहित महिलाको शंकास्पद मृत्यु: दाइजोका लागि हत्या गरिएको माइती पक्षको गम्भीर आरोप

​सत्येन्द्र प्रताप सिंह
रौतहट , २९ असार
​जिल्लाको कटहरिया नगरपालिका ३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएको छ। बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी मचेको हो। मृतक निशाको शव घरको बाँसको कोरोमा साडीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाए ।
​घटनाको सूचना पाउनासाथ प्रारम्भिक छानबिनका लागि इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले घटनास्थलको कानुनी मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान पश्चात् शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।
​ मृतकका माइती पक्षले भने निशाको आत्महत्या नभई दाइजोको निहुँमा योजनाबद्ध हत्या गरिएको गम्भीर आरोप लगाएका छन्। ईशनाथ नगरपालिका–जटहरा निवासी मृतकका बुवा रबिन्द्र साह सोनारका अनुसार गत फागुन महिनामा मात्र उनीहरूको विवाह भएको थियो। विवाह पश्चात् श्रीमान निरज कुमार साह सोनारले पटक–पटक एयर कन्डिसनर (एसी) नगद र थप दाइजोको माग गर्दै निशालाई मानसिक तथा शारीरिक यातना दिने गरेको बुवा रबिन्द्रले बताए।
​पीडित परिवारका अनुसार घटना घटे लगतै आरोपित श्रीमान घर छोडेर फरार भएका छन्। माइती पक्षले घटनालाई आत्महत्या जस्तो देखाउन शव झुन्ड्याइएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। स्थानीय बासिन्दा तथा आफन्तहरूले समेत घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन रौतहट प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्।
​यस शंकास्पद घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले प्रहरीले घटनालाई अत्यन्तै संवेदनशील रूपमा लिएर विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान अगाडि बढाएको जानकारी दिए । ​डीएसपी गौतमले भने घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र विस्तृत अनुसन्धान पछि मात्रै पुष्टि हुनेछ। अहिले नै कसैलाई दोषी ठहर गर्न मिल्दैन। प्रहरीले वैज्ञानिक प्रमाण र तथ्य संकलन गरिरहेको छ, दोषी देखिएका जोकोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button