मधेशसमाचार

बारामा दुई छुट्टाछुट्टै घटनाः पोखरीमा डुबेर बालिकाको मृत्यु, तातो तेलले पोलेर अर्की बालिका घाइते

कलैया, २८ असार

बारामा आइतबार साँझ भएका दुई छुट्टाछुट्टै घटनामा एक बालिकाको ज्यान गएको छ भने अर्की बालिका गम्भीर घाइते भएकी छन्।

जिल्लाको कलैया उपमहानगरपालिका–११ घोघरियास्थित पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ। साँझ करिब ६:३० बजे डुबेर अचेत भएकी राधिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएको थियो। अस्पतालमा ईसीजी परीक्षणपछि साँझ ७:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा SOCO सहितको मुचुल्का टोली खटिएको प्रहरीले जनाएको छ। शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको छ।

यस्तै, फेटा गाउँपालिका–१ भरवलियामा आफ्नै घरमा खेल्ने क्रममा तातो तेलले पोलेर ३ वर्षीया दिब्यान्सी कुमारी मुखिया घाइते भएकी छन्। कृष्ण मुखियाकी छोरी दिब्यान्सी खाना पकाउन तताइएको तेलको कराहीमा ठोक्किँदा दाहिने हातमा करिब ८ प्रतिशत जलन भएको प्रहरीले जनाएको छ।

घाइते बालिकाको वीरगञ्जस्थित NMC अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ।

प्रहरीले अभिभावकलाई बालबालिकालाई पोखरी, नदी तथा आगो, तातो तेलजस्ता जोखिमयुक्त स्थानबाट टाढा राख्न तथा विशेष निगरानी अपनाउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button