मधेशसमाचार

प्रेस युनियन रौतहटका अध्यक्ष तथा पत्रकार प्रिमेश सिवाकोटीको असामयिक निधन, पत्रकारिता क्षेत्र स्तब्ध

सत्येन्द्र प्रताप सिंह

असार , २९ रौतहट
रौतहटको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय, ऊर्जाशील एवं निर्भीक पत्रकारका रूपमा पहिचान बनाएका प्रिमेश सिवाकोटीको सोमबार बिहान असामयिक निधन भएको छ । नेपाल प्रेस युनियन रौतहट शाखाका निर्वाचित अध्यक्ष तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाताका रूपमा कार्यरत ३६ वर्षीय सिवाकोटीको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै पैतृक निवासमा निधन भएको हो ।
​पछिल्लो केही समययता स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका सिवाकोटीको चितवनस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि मिर्गौला, कलेजो, फोक्सो लगायतका शरीरका महत्त्वपूर्ण अंगहरूले काम गर्न छाडेका थिए । अन्ततः सोमबार बिहान उनले अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा श्रीमती र एक छोरी छन् ।

​नेपाली पत्रकारिता क्षेत्रमा सत्यको पक्षमा निडर भई कलम चलाउने सिवाकोटीको निधनले रौतहट मात्र नभई मधेस प्रदेश र सिङ्गो देशकै सञ्चार जगत्‌मा अपूरणीय क्षति पुगेको छ । जिल्लाका विकृति, विसंगति, सीमा क्षेत्रमा हुने तस्करी र स्थानीय तहका गतिविधिको विषयमा उनले निरन्तर खोजमूलक समाचारहरू सम्प्रेषण गर्दै आएका थिए ।
​उनको आकस्मिक निधनको खबर सार्वजनिक भएसँगै रौतहटसहित देशभरका पत्रकार, सञ्चारकर्मी, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता र शुभेच्छुकहरू गहिरो शोकमा डुबेका छन् । सामाजिक सञ्जालहरूमा उनलाई एक मिलनसार, इमानदार, सहयोगी र व्यावसायिक पत्रकारका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नेहरूको ओइरो लागेको छ ।

​पत्रकार सिवाकोटीको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गर्दै विभिन्न संघसंस्थाहरूले शोक विज्ञप्ति जारी गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल र नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । उनीहरूले यस दुःखको घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन् ।
​यसैबिच दिवंगत पत्रकार सिवाकोटीको पार्थिव शरीरमा नेपाली कांग्रेसका पूर्व सांसद देवप्रसाद तिमलसिनाले पार्टीको चार तारा अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सिवाकोटी व्यावसायिक पत्रकारिताका साथै लोकतान्त्रिक मूल्यमान्यता र प्रेस स्वतन्त्रताको पक्षमा सधैं दृढताका साथ उभिँदै आएका थिए ।
​उनको यो असामयिक बिदाइले रौतहटको पत्रकारिता क्षेत्रमा कहिल्यै पुरिन नसक्ने ठूलो रिक्तता सिर्जना गरेको स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मीहरूले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button