मधेशसमाचार

एसईई उत्तीर्ण विद्यार्थीले बनाए इलेक्ट्रिक बाइक, स्थानीय स्तरमा प्रोत्साहनको खाँचो

सत्येन्द्र प्रताप सिंह
रौतहट २९ असार
​नेपालमा युवा प्रतिभाहरूले आफ्नो सीमित स्रोत–साधनका बीच पनि निरन्तर रूपमा नयाँ–नयाँ आविष्कार गरेर मुलुकको ध्यान केन्द्रित गरिरहेका छन् । यसै क्रममा रौतहट जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत राजपुर नगरपालिकाका एक युवाले यस्तै एउटा उदाहरणीय र प्रसंशनीय कार्य गरेर देखाएका छन् । हवाई इन्धनको सफल परीक्षणको चर्चा सेलाउन नपाउँदै यहाँका एक एसईई उत्तीर्ण विद्यार्थीले आफ्नै बुतामा ब्याट्रीबाट चल्ने इलेक्ट्रिक मोटरसाइकल तयार पारेका छन् ।
​काठमाडौँको डल्लुमा वायरिङ (विद्युतीकरण) सम्बन्धी काम गर्दै आएका राजपुर नगरपालिका वडा नम्बर ४ निवासी शैख इजहारुल हकका १९ वर्षीय छोरा असलम आलमले उक्त इलेक्ट्रिक बाइक निर्माण गरेका हुन् । वडा नम्बर ५ मा रहेको जनता माध्यमिक विद्यालयबाट वि.सं. २०८० सालको एसईई परीक्षा तृतीय श्रेणीमा उत्तीर्ण गरेका असलमको यो कार्यले अहिले जिल्लाभरि नै नयाँ तरंग पैदा गरेको छ ।
​पुरानो गलैमर बाइकलाई नयाँ रूप
​असलमले आफ्नै घरमा रहेको पुरानो हिरो ग्लैमर मोटरसाइकललाई परिमार्जन गरेर इलेक्ट्रिक बाइकको स्वरूप दिएका हुन् । यस बाइकमा पुरानो ग्लैमर बाइकको पाङ्ग्रा, ह्यान्डल र केही बाहिरी ढाँचा (चेसिस) मात्र प्रयोग गरिएको छ भने बाँकी सम्पूर्ण आन्तरिक प्रविधि र सामग्रीहरू उनले आफैँले जोहो र परिमार्जन गरी जडान गरेका छन् ।
​यो बाइक बनाउँदाको प्राविधिक पक्ष र मुख्य विशेषताहरू
​ब्याट्री ब्याकअप: विदेशी बत्ती (लाइट) मा प्रयोग हुने २ सय ३८ वटा साना ब्याट्रीहरूलाई एकत्रित गरी उनले करिब ६ किलोग्राम तौल भएको मुख्य ब्याट्री र चार्जिङ प्रणाली आफैँले निर्माण गरेका हुन् । बाइकलाई चलाउनका लागि उनले करिब २५ हजार रुपैयाँ मूल्य बराबरको खेतान कम्पनीको इलेक्ट्रिक मोटर जडान गरेका छन् । आन्तरिक वायरिङ र ब्याट्रीलाई सुरक्षित राख्नका लागि बाथरूममा प्रयोग हुने पीभीसी पाइपको सिर्जनात्मक प्रयोग गरी कभरिङ गरिएको छ । यो बाइकले एक पटकको फुल चार्जमा करिब ९० किलोमिटर सम्मको माइलेज दिने दाबी असलमको छ ।
​​पछिल्लो समय पेट्रोल र सवारी साधनको मूल्य अकासिँदै गइरहेको अवस्थामा असलमको यो वातावरणमैत्री र किफायती आविष्कारले स्थानीय स्तरमा निकै चर्चा बटुलेको छ । छ महिना लामो निरन्तर मिहिनेत र प्रयासपछि मात्र यो बाइक सडकमा गुडाउन योग्य बनेको असलम बताउँछन् ।
​नयाँ बाइक तयार भएपछि गाउँघरका साथीभाइ र स्थानीयहरूले टेस्ट ड्राइभ गर्नका लागि आफूलाई निकै हैरान पार्ने गरेको असलमले हाँस्दै सुनाए ।
​मैले छ महिना लगाएर यो बाइक तयार पारेको हुँ । निकै मिहिनेत र खर्च लागेको छ । यसलाई अझै परिष्कृत र व्यावसायिक बनाउन सकिन्छ, तर यसका लागि मलाई थप प्राविधिक र आर्थिक सहयोगको खाँचो छ ।
​— असलम आलम, आविष्कारक विद्यार्थी
​प्रोत्साहन र सहयोगको प्रतिबद्धता
​कुनै औपचारिक इन्जिनियरिङ डिग्री विना नै केवल आफ्नो अनुभव र लगनशीलताको भरमा यस्तो बाइक तयार पारेका असलमलाई अहिले सबैले बधाई र हौसला दिइरहेका छन् । उनको यो प्रतिभालाई प्रवर्द्धन गर्न स्थानीय सरकारले पनि चासो देखाएको छ ।
​राजपुर नगरपालिकाका मेयर र स्थानीय वडा अध्यक्षले असलमको कार्यको उच्च मूल्यांकन गर्दै उनलाई पुरस्कार प्रदान गर्ने र आगामी दिनमा यस प्रविधिलाई दर्ता प्रक्रियामा लगेर कानुनी दायराभित्र ल्याउन आवश्यक सबै प्रशासनिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
​स्थानीयस्तरमा लुकेर रहेका यस्ता प्रतिभावान युवाहरूलाई समयमै राज्य र स्थानीय तहले उचित प्रोत्साहन, तालिम र लगानीको वातावरण सिर्जना गरिदिने हो भने मुलुक भित्रै आत्मनिर्भरता र दिगो विकासको नयाँ बाटो खुल्ने निश्चित देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button