
कलैया, २९ असार
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा सञ्चालनमा प्रयोग हुने ईडीएलभीआरएस (EDLVRS) प्रणालीमा प्राविधिक समस्या देखिएपछि यातायात व्यवस्था कार्यालय, बाराले लाइसेन्ससम्बन्धी अधिकांश सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार नयाँ सवारीचालक अनुमतिपत्र दर्ता, वर्ग थप (क्याटेगरी एड), लाइसेन्स नवीकरण तथा सम्बन्धित राजस्व भुक्तानीलगायतका सेवा हालका लागि बन्द गरिएको हो। कार्यालयका अनुसार उक्त प्रणालीमा आएको प्राविधिक समस्याको समाधान गर्ने कार्य यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंले गरिरहेको जानकारी प्राप्त भएपछि सेवा स्थगन गर्नुपरेको हो।
यद्यपि, कार्यालयले सवारीचालक अनुमतिपत्र वितरण तथा सवारी दर्ता, नामसारी, नवीकरणलगायत सवारीसम्बन्धी अन्य नियमित कार्य भने पूर्ववत् सञ्चालनमा रहने जनाएको छ।
कार्यालयले ईडीएलभीआरएस प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएलगत्तै स्थगित गरिएका सबै सेवा पुनः नियमित रूपमा सुरु गरिने स्पष्ट पारेको छ। साथै, आकस्मिक प्राविधिक समस्याका कारण सेवाग्राहीमा परेको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता अपनाइदिन अनुरोध गरेको छ।



