मधेशसमाचार

कार्यचाप घटेपछि पूर्वाधार विकास कार्यालय बाराबाट दैनिक ज्यालादारी कर्मचारी हटाइँदै

कलैया, ३० असार

पूर्वाधार विकास कार्यालय, बाराले आर्थिक वर्ष २०८२/८३ समाप्तिसँगै कार्यालयमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाई आगामी साउन १ गतेदेखि काममा नखटाइने निर्णय गरेको छ। कार्यालयले कार्यचाप न्यून भएको कारण देखाउँदै इन्जिनियरदेखि कार्यालय सहयोगीसम्मका दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट अलग गर्ने सूचना जारी गरेको हो।
कार्यालय प्रमुख ओमकुमार साहद्वारा जारी सूचनामा हाल कार्यालयमा पर्याप्त कार्यचाप नरहेको उल्लेख गर्दै दैनिक ज्यालादारीमा कार्यरत इन्जिनियर, सब–इन्जिनियर, सिनियर सुपरभाइजर, जुनियर सुपरभाइजर, ल्याब टेक्निसियन, ल्याब सहयोगी, कार्यालय सहयोगीलगायतका कर्मचारीलाई २०८३ साउन १ गतेदेखि काममा खटाउन नसकिने जनाइएको छ।
सूचनामा सम्बन्धित कर्मचारीलाई आफूले जिम्मेवारी लिएर सम्पादन गरिरहेका सबै योजना, फाइल तथा अन्य कागजात सम्बन्धित इन्जिनियरलाई विधिवत् हस्तान्तरण गर्न तथा जिन्सीमा रहेका सरकारी सामग्री भए तत्काल जिन्सी प्रमुखलाई बुझाउन निर्देशन दिइएको छ। कार्यालयले जिम्मेवारी हस्तान्तरणको प्रक्रिया समयमै पूरा गर्न कर्मचारीलाई आग्रह गरेको छ।
कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको सुरुवातसँगै आवश्यक जनशक्ति व्यवस्थापन, कार्यभारको अवस्था तथा बजेटको उपलब्धताका आधारमा कर्मचारी परिचालन गरिने भएकाले हाल दैनिक ज्यालादारी कर्मचारीको सेवा निरन्तरता दिन नसकिएको हो।
उक्त सूचना पूर्वाधार विकास कार्यालयको प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा, प्रशासन शाखा, जिल्ला प्रशासन कार्यालय बारा तथा मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा समेत बोधार्थ पठाइएको छ।
कार्यालयको यस निर्णयले लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी प्रभावित हुने भएको छ। नयाँ आर्थिक वर्षमा पुनः आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन हुने वा नहुने विषय भने कार्यालयले खुलाएको छैन। दैनिक ज्यालादारी कर्मचारीहरूले भने आफ्नो भविष्य अन्योलमा परेको भन्दै सम्बन्धित निकायबाट स्पष्ट नीति र आवश्यक निर्णयको अपेक्षा गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button