मधेशसमाचार

मुद्दा मिलाउने नाममा आर्थिक चलखेल ? इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामाथि गम्भीर प्रश्न

मुद्दा मिलाउने नाममा आर्थिक चलखेल ? इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामाथि गम्भीर प्रश्न
शु.आ. सम्बाददाता
कलैया, ०१ साउन
 इलाका प्रहरी कार्यालय सिमराको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापामाथि मुद्दासम्बन्धी काममा आर्थिक चलखेल गरेको भन्ने गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयवासी तथा सेवाग्राहीहरूले मुद्दा दर्ता, अनुसन्धानको प्रक्रिया र अन्य कानुनी काममा आर्थिक प्रभाव पार्ने प्रयास हुने गरेको गुनासो गरेका छन्।
स्थानीय स्रोतका अनुसार मुद्दा दर्ता गर्न आउने सेवाग्राही तथा पहिलेदेखि दर्ता भएका मुद्दाका पक्षहरूसँग विभिन्न बहानामा रकम माग्ने र आर्थिक लेनदेनका आधारमा काम प्रभावित हुने गरेको आरोप छ।
यस विषयमा प्रहरी निरीक्षक प्रकाश थापासँग प्रतिक्रिया लिन फोनमार्फत सम्पर्क गर्दा उनले फोनमा यसबारे कुरा गर्न नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। “यस्ता कुरा फोनमा गर्ने हो? भेटेर कुरा गरौँ,” भन्ने जवाफ दिएका छन्। आरोपबारे स्पष्ट खण्डन वा स्वीकार नगरी भेटेर मात्रै कुरा गर्ने अडान लिएपछि झन् शंका बढेको छ।
स्थानीय नागरिकहरूका अनुसार प्रहरी संगठनले निष्पक्ष र पारदर्शी सेवा दिनुपर्नेमा उल्टै आर्थिक प्रभावका आधारमा मुद्दा प्रभावित हुने अवस्था रहेमा यसले प्रहरीप्रतिको जनविश्वासमा गम्भीर असर पार्नेछ। उनीहरूले यस विषयमा जिल्ला प्रहरी कार्यालय बारा, मधेश प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रधान कार्यालयले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।
कानुनविद्हरूका अनुसार यदि कुनै प्रहरी अधिकारीले मुद्दाको अनुसन्धान वा कारबाहीलाई आर्थिक लेनदेनसँग जोडेको प्रमाणित भएमा त्यो भ्रष्टाचार तथा अख्तियार दुरुपयोगसँग सम्बन्धित गम्भीर विषय हुन सक्छ। यस्तो अवस्थामा सम्बन्धित निकायले तथ्यगत अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नुपर्ने हुन्छ।
यस प्रकरणबारे इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारा तथा सम्बन्धित उच्च निकायले आधिकारिक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ। आरोप पुष्टि भए कानुनी कारबाही र आरोप असत्य भए त्यसबारे पनि स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button