
बारा, ०१ साउन

बारा जिल्लाको फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विभिन्न सामाजिक तथा विकासमुखी कार्यक्रम कार्यान्वयनका लागि गैरसरकारी संस्था (NGO) सूचीकरण (Roster) गर्न सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचना गाउँपालिकाले साउन १ गते पहिलो पटक प्रकाशन गरेको हो।
सूचनाअनुसार गाउँपालिका तथा वडा कार्यालयसँग साझेदारीमा सामाजिक परिचालन, महिला तथा बालअधिकार, शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, कृषि, पशुपालन, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, संस्थागत क्षमता विकास, आयआर्जन तथा सीप विकासलगायतका क्षेत्रमा कार्य गर्न इच्छुक तथा नवीकरण भएका योग्य स्थानीय र राष्ट्रिय गैरसरकारी संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
आवेदनसँग संस्था दर्ता तथा नवीकरण प्रमाणपत्र, समाज कल्याण परिषद् (SWC) मा आबद्धताको प्रमाणपत्र (आवश्यकता अनुसार), प्यान दर्ता, कर चुक्ता प्रमाणपत्र, संस्थाको विधान, कार्यअनुभव तथा मुख्य कार्यक्रमको संक्षिप्त विवरण र तोकिएको दस्तुर बुझाएको रसिद अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
गाउँपालिकाले आवश्यक कागजात नपुगेका वा म्याद नाघेका आवेदन स्वीकृत नगरिने तथा सूचीकरण भए पनि कार्यक्रम वा बजेट प्राप्ति स्वतः सुनिश्चित नहुने स्पष्ट गरेको छ। आवेदन फाराम गाउँपालिकाको सामाजिक विकास शाखाबाट वा फेटा गाउँपालिकाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ।



