मधेशसमाचार

गाउँपालिकाद्वारा एनजिओ, फर्म तथा कम्पनी सूचीकरणका लागि सार्वजनिक सूचना

बारा, ०१ साउन

फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रमलाई व्यवस्थित बनाउन गैरसरकारी संस्था (NGO), फर्म, कम्पनी तथा सेवा प्रदायकहरूको सूची (Roster/Standing List) तयार गर्न दुईवटा छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गरेको छ।
गाउँपालिकाले सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि, वातावरण, महिला तथा बालअधिकार, सीप विकास, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा साझेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक तथा आवश्यक योग्यता पूरा गरेका स्थानीय र राष्ट्रिय गैरसरकारी संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।


यस्तै, सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार चालु आर्थिक वर्षमा आवश्यक पर्ने वस्तु तथा सेवाको खरिदका लागि फर्म, कम्पनी र सेवा प्रदायकहरूको ‘स्ट्यान्डिङ लिस्ट’ तयार गर्न पनि आवेदन आह्वान गरिएको छ। यसअन्तर्गत स्टेशनरी, कम्प्युटर तथा आईटी सामग्री, फर्निचर, सवारीसाधन मर्मत, विद्युतीय सामग्री, विज्ञापन तथा सञ्चार सेवा, होटल तथा क्याटरिङ सेवा, निर्माण सामग्री र मर्मतसम्भारलगायतका विभिन्न सेवा तथा सामग्री समेटिएका छन्।
दुवै सूचनाअनुसार आवेदनसँग संस्था वा फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, आवश्यक स्वीकृति तथा अन्य तोकिएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। म्याद नाघेका वा अपूर्ण कागजातसहितका आवेदन स्वीकार नगरिने गाउँपालिकाले जनाएको छ।


गाउँपालिकाले सूचीकरणमा समावेश हुनु मात्रै खरिद वा कार्यक्रम प्राप्तिको सुनिश्चितता नभई प्रचलित कानुनबमोजिम प्रतिस्पर्धात्मक प्रक्रियाबाट मात्रै छनोट गरिने स्पष्ट पारेको छ। आवेदन फाराम गाउँपालिकाको सम्बन्धित शाखाबाट वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button