मधेशसमाचार

जैसवारको भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न; पूर्वप्रधानाध्यापक र अभिभावकहरू पनि सम्मानित

सत्येन्द्र प्रताप सिंह

रौतहट , ०२ साउन

जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ३ सखुअवामा अवस्थित श्री देवी माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा कार्यरत प्राविधिक शिक्षक रामानन्द प्रसाद जैसवारको एक भव्य समारोहका बीच बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा लामो समयसम्म सेवारत रही शिक्षा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै शुक्रबार उक्त विशेष समारोहको आयोजना गरिएको हो।

​विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र शिक्षाप्रेमीहरूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक लखेन्द्र प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

​​बिदाइ तथा सम्मान समारोहमा माधव नारायण नगरपालिकाका नगर प्रमुख वैजनाथ प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसै गरी उपप्रमुख निर्मला देवी रमण, इन्जिनियर नागेन्द्र राय यादव, शिक्षा शाखा प्रमुख रोहित खनाल र संयोजक अरविन्द यादव लगायतको सक्रिय सहभागिता रहेको थियो।

​कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यादवले विद्यालयका पूर्वप्रधानाध्यापकहरू वृजानन्द प्रसाद यादव, सुरेन्द्र राय यादव, बुनिलाल राय यादव, सोनेलाल राय यादव, विधानन्द महतो, विवेकानन्द यादव र सुरेन्द्र प्रसाद यादवलाई दोसल्ला ओढाएर तथा फूलमाला लगाएर विशेष सम्मान गरेका थिए । शिक्षा क्षेत्रको जग बलियो बनाउन पूर्वप्रधानाध्यापकहरूले खेलेको भूमिकाको स्मरण गर्दै सो सम्मान प्रदान गरिएको हो।

​त्यसै गरी विद्यालयको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अभिभावक ज्योति पण्डित, पूर्व विद्यालय व्यवस्थापन समिति  अध्यक्षहरू विधानन्द यादव, पनिलाल पण्डित, रामानन्द राय यादव तथा वडा अध्यक्ष राजकुमार यादवलाई उपप्रमुख निर्मला देवी रमण र विद्यालयका प्रधानाध्यापक लखेन्द्र प्रसाद यादवले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए ।

​औपचारिक कार्यक्रमको सुरुवात र बीचमा विद्यालयका छात्रछात्राहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए। विद्यार्थीहरूले स्वागत गीत, शुभकामना गीत, गुरु सम्मानमा आधारित भावपूर्ण गीत तथा राष्ट्रियता झल्काउने प्रस्तुतिहरू प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक र भावनात्मक बनाएको कार्यक्रम सञ्चालक एवं शिक्षक राम प्रवेश शाहले जनाए ।

​समारोहमा बोल्ने वक्ताहरूले निवर्तमान शिक्षक रामानन्द प्रसाद जैसवारको निष्ठा, मिहिनेत र प्राविधिक शिक्षातर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न उनले खेलेको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गरेका थिए। वक्ताहरूले शिक्षक जैसवारले देखाएको बाटो र उनको शिक्षण शैली विद्यालयका लागि सधैँ मार्गदर्शक रहने उल्लेख गरे। कार्यक्रमको समापन गर्दै अध्यक्ष एवं प्रधानाध्यापक लखेन्द्र प्रसाद यादवले सम्मानित भएका सम्पूर्ण व्यक्तित्वहरू र बिदाइ हुनुभएका शिक्षक जैसवारको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button