
सत्येन्द्र प्रताप सिंह
रौतहट २ साउन
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित दोस्रो लच्कामा शुक्रबार दिउँसो दुईवटा यात्रुवाहक बस र एक ट्रक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । दुर्घटनाका कारण डेढ घण्टासम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको म.प्र. ०२-००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौँबाट धरानतर्फ जाँदै गरेका बा.प्र. ०३-००१ ख ५२८४ र बा.प्र. ०३-००१ ख ३६६० नम्बरका दुईवटा यात्रुवाहक बसलाई ठक्कर दिएको थियो । ठक्करबाट बा.प्र. ०३-००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिँदा दुवै तर्फको यातायात ठप्प भएको थियो ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक दिनेश थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले सडकमा पल्टिएको बसलाई हटाएर दिउँसो २:३० बजेदेखि राजमार्ग दुईतर्फी सुचारु गराएको थियो ।
प्रहरीले दुर्घटना गराउने ट्रकका चालक महोत्तरीको बर्दीबास नगरपालिका बस्ने ३५ वर्षीय लाल बहादुर मगरलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक जाँचका क्रममा चालक मगरले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए ।
घाइते हुनेहरूमा ट्रकका सह-चालक र बसमा सवार यात्रुहरू रहेका छन् । उनीहरूको चपुरस्थित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
चपुर प्रा.लि.मा उपचार भइरहेका:
६० बर्षीय लाल बहादुर तामाङ्ग धनुषाधाम न.पा ९ निवासी ट्रकका सह-चालक उनको अनुहार र छातीमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ, ४३ बर्षिय विकास पौडेल हेटौँडा उपमहानगरपालिका निवासी बा.प्र. ०३-००१ ख ३६६० नम्बरका बस चालक, उनको टाउको र दाहिने हातमा सामान्य चोट लागेको थियो , उनलाई दिउँसो ४:३० बजे थप उपचारका लागि अर्थोपेडिक अस्पताल हेटौँडा पठाइएको छ ,
सिमन्त हाईवे अस्पताल चपुरमा उपचार भइरहेका:
४५ बर्षिय प्रदिप खड्का उदयपुरको बेल्का नगरपालिका–९ निवासी बस यात्रु उनको दुवै हातमा सामान्य चोट लागेको छ ,
५७ निर्मला देवी गुप्ता सुनसरीको इनरुवा नगरपालिका–२ निवासी उनको बायाँ आँखाको परेला माथि सुन्निएको र अवस्था सामान्य छ ,
४६ बर्षिय रितु वर्ण कार्की मोरङको सुन्दर हरैँचा नगरपालिका–५ निवासी उनको नाकमा चोट लागेको र अवस्था मध्यम रहेकाले दिउँसो ४:४० बजे थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको छ,
४४ बर्षिय मेघराज कार्की मोरङको सुन्दर हरैँचा नगरपालिका–५ निवासी टाउकोमा सामान्य चोट लागेका उनलाई पनि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रिफर गरिएको छ,
३२ सफल मगर सुनसरीको इटहरी उपमहानगरपालिका निवासी उनको चिउँडोमा सामान्य चोट लागेको छ,
५४ बर्षिय दिलमाया कार्की मोरङको सुन्दर हरैँचा नगरपालिका–५ निवासी उनको बायाँ र दायाँ खुट्टामा सामान्य चोट लागेको छ । उनलाई पनि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
दुर्घटनामा परेको अर्को यात्रुवाहक बस बा.प्र. ०३-००१ ख ५२८४ नम्बरको बसमा भने सामान्य क्षति मात्र भएको छ । उक्त बसमा सवार कोही पनि यात्रु घाइते नभएको र बस चालक घटनास्थलमै रहेको प्रहरीले जनाए । सो बस आफ्नो गन्तव्यतर्फ अगाडि बढिसकेको छ ।
हाल दुर्घटनाग्रस्त ट्रक र पल्टिएको बसलाई सडकको छेउमा सुरक्षित राखिएको छ भने तिनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याउने पहल भइरहेको प्रहरीले जनाए ।



