
बीरगंज, ०४ साउन
जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत अनलाइन ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेलायतको लन्डनमा रहेका रौतहटका एक नेपालीको फोटो प्रयोग गरी फेक फेसबुक अकाउन्ट र म्यासेन्जर आईडी सिर्जना गरेर उनका आफन्तसँग रकम मागिएको थियो। बिरामी परेको बहाना बनाउँदै पीडितका आफन्तबाट करिब दुई लाख ५० हजार रुपैयाँ विभिन्न बैंक खाता र मोबाइल नम्बरमार्फत ठगी गरिएको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न व्यक्तिका नाममा बैंक खाता सञ्चालन गरी अनलाइन ठगीमा संलग्न रहेको आरोपमा बारा प्रसौनी गाउँपालिका -१ निवासी २० वर्षिय जैमोदिन मियाँ अँसारी र पर्साको बहुदरमाई नगरपालिका-१ निवासी २० वर्षिय बिशाल पेलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले आर्थिक कारोबार, बैंक खाता र डिजिटल माध्यमको विस्तृत अनुसन्धान जारी रहेको छ। साथै सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको सन्देश वा रकम माग्ने आग्रहप्रति सचेत रहन र यस्ता घटना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ।



