
रौतहट, ०४ साउन
निरन्तरको वर्षासँगै बागमती नदीमा पानीको बहाव बढ्न थालेपछि सम्भावित बाढी तथा कटानको जोखिमलाई ध्यानमा राख्दै रौतहटमा उच्चस्तरीय अनुगमन गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा सञ्चारकर्मी सम्मिलित टोलीले नदी तटीय क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।
अनुगमन टोलीले गढीमाई नगरपालिका अन्तर्गतको धरमपुर पुलदेखि सर्लाहीको मैनाथपुर हुँदै सीमावर्ती क्षेत्रसम्म पुगेर नदीको बहाव, तटबन्धको अवस्था तथा कटानको जोखिममा रहेका बस्तीहरूको निरीक्षण गरेको थियो।
निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी भुसालले मनसुन सक्रिय रहेकाले बाढी र कटानको जोखिम बढेको उल्लेख गर्दै जिल्ला विपद् व्यवस्थापन समिति तथा सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए। उनले नागरिकको जिउधनको सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताउँदै तटबन्धका कमजोर स्थानको मर्मत तथा उद्धार सामग्रीको पूर्वतयारीलाई तीव्र बनाइएको बताए।
अनुगमनमा सहभागी प्रतिनिधिसभा सदस्य राजेश चौधरी र संविधानसभा सदस्य बबन सिंहले बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको औंल्याए। उनीहरूले तत्कालीन जोखिम व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउँदै आवश्यक परे प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
जिल्ला प्रहरी प्रमुख सिताराम रिजालका अनुसार बागमती नदीको जलस्तर २४सै घण्टा निगरानीमा राखिएको छ भने तटीय क्षेत्रका प्रहरी युनिटलाई उद्धार तथा आपत्कालीन परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागिता रहेको थियो।
यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने आधिकारिक सूचना मात्रै विश्वास गर्न तथा जलस्तर खतराको तह नाघेमा वा तटबन्धमा समस्या देखिएमा तत्काल सुरक्षा निकाय वा जनप्रतिनिधिलाई जानकारी गराउन अनुरोध गरेको छ।



