
सत्येन्द्र प्रताप सिंह
रौतहट , ०४ साउन
जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालित आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण अनुसन्धान तथा कानुन कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय गौरमा आइतबार आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत प्रहरीले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै दाबी गरेको हो।
वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रहरीले जनअपेक्षा अनुसारको सेवा प्रवाह र सुरक्षा व्यवस्था चुस्त राख्न सफल भएको बताए ।
एसपी रिजालका अनुसार गत आर्थिक वर्षभरि जिल्लामा कुल १ हजार १५२ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका थिए। दर्ता भएका मुद्दामध्ये ६ सय ८० वटा फछ्र्यौट भइसकेका छन् भने बाँकी ४ सय ७२ वटा मुद्दाहरू हाल अनुसन्धानकै क्रममा रहेका छन्। सो अवधिमा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा ६ सय १४ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाए ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार र अवैध हतियार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको प्रतिवेदनले देखाउँछ। वर्षभरिमा लागुऔषधतर्फ ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट ८ सय ८७ केजी २० ग्राम गाँजा, २५ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर, २ हजार २५६ एम्पुल (डाइजेपाम, फेनारगन आदि) र १३ हजार ३१९ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरिएको छ।
यस्तै अवैध हातहतियारतर्फ प्रहरीले ६ थान हतियार र ११ राउण्ड गोलीसहित ३ जनालाई पक्राउ गरेको छ। खोटा (नक्कली) मुद्रासम्बन्धी ३ वटा मुद्दामा ७ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको एस पि रिजालले जनाए ।
अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिँदै रौतहट प्रहरीले वर्षौँदेखि फरार रहेका ४ सय ४८ जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका फरार प्रतिवादीहरूबाट कुल ७६ वर्ष ११ महिना ११ दिन कैद भुक्तान गराउनुका साथै ६३ लाख ७१ हजार ५७४ रुपैयाँ जरिवाना असुल गरिएको छ।
आर्थिक अपराध र भन्सार छलीविरुद्धको अभियानमा रौतहट प्रहरीले ठूलो सफलता हात पारेको छ। राजश्व चुहावट रोक्ने क्रममा प्रहरीले १८ जनालाई पक्राउ गर्नुका साथै ५ सय ५५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी र बरामद गरिएका अवैध सामान गरी कुल ५ करोड १२ लाख ५५ हजार २२ रुपैयाँ बराबरको मूल्यांकन गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा दाखिला गरिएको छ। यो राजश्व संकलनको दर विगतको आर्थिक वर्षको लक्ष्यभन्दा ५.२४ प्रतिशतले बढी हो। यसैगरी स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँ नगद सहित ४ जनालाई समेत नियन्त्रणमा लिइएको प्रतिवेदनमा उल्लेख छ।
जिल्लामा सवारी दुर्घटनाको अवस्था भने अझै चुनौतीपूर्ण देखिएको छ। वर्षभरिमा कुल १ हजार ८८ वटा साना-ठूला सवारी दुर्घटनाहरू भएका छन्, जसमा परी ५३ जनाले ज्यान गुमाएका छन् भने १ हजार ६६९ जना घाइते भएका छन्।
अर्कोतर्फ, ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ वटा सवारी साधनलाई कारबाही गरी १ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाए ।
प्राकृतिक स्रोतको दोहन र अवैध घरेलु मदिरा नियन्त्रणमा पनि प्रहरी सक्रिय देखिएको छ। अवैध काठ, अवैध बालुवा-गिट्टी उत्खनन र अवैध मदिरा उत्पादन विरुद्ध अभियान नै सञ्चालन गरी ठूलो परिमाणमा काठ बरामद गरिएको छ भने उत्खननमा संलग्न ३० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। समुदायमा शान्ति सुरक्षा खलल पुर्याउने ५ वटा ठूला अवैध मदिरा भट्टी र त्यहाँ रहेका उपकरण तथा कच्चा पदार्थहरू नियन्त्रणमा लिई नष्ट गरिएको छ।
प्रहरीले समुदायसँगको सम्बन्ध सुमधुर बनाउन सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वर्षभरिमा १५४ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका निकायहरूबाट एक वर्षको अवधिमा कुल १ लाख ३३ हजार ७६४ जना सेवाग्राहीले प्रत्यक्ष रूपमा विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सीताराम रिजालले जनशक्तिको दरबन्दी न्यून भए तापनि उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरी शान्ति सुरक्षा चुस्त राख्न सफल भएको बताए । वार्षिक तथ्यांकले अपराध नियन्त्रण, राजश्व संकलन, फरार प्रतिवादी पक्राउ र सामुदायिक सेवामा उल्लेखनीय प्रगति देखाएकोमा उनले खुसी व्यक्त गरे । उनले भन्ने स्थानीय बासिन्दा, नागरिक समाज, सञ्चारकर्मी र सरोकारवाला निकायहरूको निरन्तर सहयोगकै कारण हामीले जनशक्ति अभावका बीच पनि सन्तोषजनक सेवा प्रवाह गर्न सकेका हौँ।
उक्त प्रगति विवरण सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतम लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरू र स्थानीय सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।



