मधेशसमाचार

एक दशकदेखि अधुरो मानमत–मटिअर्वा सडकको कलैया खण्डः वर्षासँगै हिलाम्मे, स्थानीयलाई सास्ती 

बारा, ०४ साउन
मानमत–मटिअर्वा २६ किलोमिटर सडक योजनाअन्तर्गत कलैया बजारमा पर्ने करिब ३ किलोमिटर सडक खण्ड एक दशकभन्दा बढी समयदेखि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। वर्षौंदेखि विभिन्न तहका जनप्रतिनिधि र राजनीतिक दलको चुनावी एजेन्डा बन्दै आएको यो सडक अझै अधुरै रहँदा सामान्य वर्षामै हिलाम्मे, खाल्डाखुल्डी र जलमग्न हुने समस्या दोहोरिएको छ।
मानमतदेखि कलैयाको उत्तरतर्फ र कलैयादेखि मटिअर्वासम्मको दक्षिणतर्फ गरी करिब २३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि कलैया बजारभित्र संस्कार एफएमदेखि बरेवा स्केलसम्मको करिब ३ किलोमिटर चार लेन सडक निर्माण हुन नसक्दा सम्पूर्ण सडक सञ्जाल नै अव्यवस्थित बनेको छ।
पछिल्ला केही दिनदेखि परेको वर्षाले सडकभरि ठूला–ठूला खाल्डाखुल्डीमा पानी जमेको छ। सडकको अवस्था अत्यन्त जोखिमपूर्ण बनेपछि पैदलयात्री, विद्यार्थी, व्यवसायी तथा सवारी चालक दैनिक सास्ती खेप्न बाध्य छन्। पानी जमेकै कारण खाल्डो देख्न नसक्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।
स्थानीय व्यवसायी रामबाबु साह भन्छन्, “दश वर्षभन्दा बढी भयो, यही सडक बनाउने आश्वासन मात्रै सुन्दै आएका छौं। वर्षा लागेपछि पसलसम्म ग्राहक आउन गाह्रो हुन्छ। धुलो हुँदा धुलो र पानी पर्दा हिलोले व्यवसाय नै प्रभावित भएको छ।”
स्थानीयवासी सुनीता देवी ले भनिन्, “विद्यालय जाने बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी समस्या छ। पानी जमेको सडक पार गर्नै मुस्किल हुन्छ। कहिलेसम्म यस्तो दुःख सहने?”
सवारी चालक महेन्द्र यादव का अनुसार सडकको खाल्डाखुल्डीका कारण दैनिक सवारीसाधन बिग्रिने, दुर्घटनाको जोखिम बढ्ने र यात्रा समयसमेत लम्बिने गरेको छ। “कलैयाको मुख्य बजारकै सडक यस्तो अवस्थामा हुनु लाजमर्दो कुरा हो,” उनले भने।
स्थानीयवासीका अनुसार यो सडक निर्माणका विषयमा पटक–पटक सम्बन्धित निकाय, जनप्रतिनिधि तथा सरोकारवालाको ध्यानाकर्षण गराइए पनि ठोस प्रगति हुन सकेको छैन। प्रत्येक निर्वाचनमा सडक निर्माणको प्रतिबद्धता दोहोरिने गरे पनि कार्यान्वयन भने हुन नसकेको उनीहरूको गुनासो छ।
नगरवासीले सडक निर्माण कार्यलाई अब थप ढिलाइ नगरी तत्काल अघि बढाउन, वर्षायाममा आवतजावत सहज हुने गरी अस्थायी मर्मतसमेत गर्न तथा निर्माण प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
कलैया बजारको मुख्य सडक लामो समयदेखि अधुरो रहँदा सर्वसाधारणको दैनिक जनजीवन, व्यापार–व्यवसाय, यातायात सेवा तथा समग्र शहरी व्यवस्थापनमै नकारात्मक असर परेको भन्दै स्थानीयले तत्काल निर्माण सम्पन्न गर्न सरकारसँग जोडदार माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button