मधेशसमाचार

पिलुवामा ‘यस परिधि मेडिकल हल’ सञ्चालनमा

बारा , १४ साउन
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवास्थित लोकतान्त्रिक चोकमा ‘यस परिधि मेडिकल हल’ को औपचारिक उद्घाटन गरिएको छ। स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा भरपर्दो स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको मेडिकल हलको उद्घाटन वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले रिबन काटेर गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष खरेलले स्थानीय स्तरमै आवश्यक औषधि तथा स्वास्थ्य सामग्री सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गर्दै मेडिकल हलले सर्वसाधारणलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्वास्थ्य सेवा विस्तारमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहने बताउनुभयो।
मेडिकल हलका सञ्चालक इजहरुल हवारी र सागर गुप्ताले गुणस्तरीय औषधि, उचित परामर्श तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले स्थानीय बासिन्दाको विश्वास जित्दै स्वास्थ्य सेवामा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।
यस अवसरमा नेपाली कांग्रेस बारा नेता राकेश पाण्डेयले मेडिकल हलका सञ्चालकद्वय इजहरुल हवारी र सागर गुप्तालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले सफलतापूर्वक सेवा प्रवाह गरी स्थानीय नागरिकको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटनसँगै ‘यस परिधि मेडिकल हल’ले नियमित रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button