मधेशसमाचार

साम्प्रदायिक सद्भाव खलबल्याउने सामग्री हटाउन प्रेस काउन्सिलको कडाई, अटेर गर्ने सञ्चारमाध्यममाथि कार्वाही 

काठमाडौं, १४ साउन

सुनसरीलगायतका जिल्लामा भएका घटनापछि धर्म तथा समुदायबीचको सद्भावमा असर पुग्ने र हिंसालाई प्रश्रय दिने प्रकृतिका समाचार तथा सामग्रीमाथि प्रेस काउन्सिल नेपालले कडाइ गरेको छ।

काउन्सिलले बिहिबारसम्मको अनुगमन विवरण सार्वजनिक गर्दै ११ वटा सञ्चारमाध्यममा प्रकाशित १४ वटा सामग्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। तीमध्ये टेलिफोनमार्फत निर्देशन दिइएका १० वटा सञ्चारमाध्यमले आपत्तिजनक सामग्री हटाइसकेको काउन्सिलले जनाएको छ।

यद्यपि, एचटीपीखवरले निर्देशन पालना नगरेको भन्दै थप कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले उल्लेख गरेको छ। त्यसैगरी दर्ता नभएका दुई सामाजिक सञ्जालमार्फत प्रकाशित सात सामग्रीका सम्बन्धमा साइबर ब्युरोमा पत्राचार गरिएको जानकारी दिइएको छ।

काउन्सिलका अनुसार यसअघि बुधबार निर्देशन दिइएका बाँकी सात सामग्रीमध्ये पाँच सञ्चारमाध्यम र एक दर्ता नभएको सामाजिक सञ्जालले निर्देशन पालना गरी सामग्री हटाएका छन्। तर अनलाईनपत्रिकाले हटाउने जानकारी दिए पनि हालसम्म सामग्री नहटाएकाले पुनः सचेत गराइएको छ।

त्यस्तै, दर्ता नभएको सामाजिक सञ्जाल नेपालतन्त्रले मौखिक निर्देशनपछि पनि सामग्री नहटाएको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार तथा सामग्री प्रकाशन–प्रसारण गर्दा पत्रकारिता आचारसंहिता पालना गर्न, धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने र हिंसा भड्काउने सामग्री प्रकाशन नगर्न आग्रह गरेको छ। साथै, निर्देशनको अवज्ञा गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने चेतावनी पनि दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button