मधेशसमाचार

फेटाको त्रिवेणीमा श्री शिव महापुराण तथा रुद्राभिषेक महोत्सव सुरु, पहिलो यजमानका रूपमा युवा नेता उमेश दुबे सहभागी

बारा, १४ साउन

फेटा गाउँपालिका–१, त्रिवेणीस्थित श्री हनुमान मन्दिरमा पवित्र श्रावण महिनाको अवसर पारेर एकमहिने श्री शिव महापुराण कथा तथा रुद्राभिषेक महोत्सव बिहीबारदेखि विधिवत् शुभारम्भ भएको छ।
मिति २०८३ साउन १४ गतेदेखि सुरु भएको महोत्सवमा वैदिक विधिअनुसार पहिलो रुद्राभिषेक तथा विशेष पूजाआजा सम्पन्न गरिएको आयोजकले जनाएको छ। महोत्सवको उद्घाटनसँगै पहिलो यजमानका रूपमा फेटा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार उमेश दुबे सहभागी भई रुद्राभिषेक तथा शिव महापुराण पूजाको शुभारम्भ गरेका हुन्।
उक्त अवसरमा दुबेले पहिलो रुद्राभिषेक गर्ने अवसर प्रदान गरेकोमा सम्पूर्ण श्रद्धालु, आयोजक समिति तथा उपस्थित महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दै भगवान शिवको असीम कृपाले फेटा गाउँपालिकावासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उन्नतिको प्रकाश फैलियोस् भन्ने कामना व्यक्त गरे।
श्रावण महिनाभर सञ्चालन हुने महोत्सवअन्तर्गत दैनिक श्री शिव महापुराण कथा वाचन, रुद्राभिषेक, भजन–कीर्तन, आरती तथा महाप्रसाद (भण्डारा) को व्यवस्था गरिएको आयोजकले जनाएको छ। पहिलो दिनदेखि नै स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक समितिका अनुसार श्रावण महिनाभर सञ्चालन हुने धार्मिक कार्यक्रममा फेटा गाउँपालिकासहित बारा र आसपासका क्षेत्रका श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सवले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समाजमा सद्भाव, नैतिकता र आध्यात्मिक चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
आयोजकले सम्पूर्ण श्रद्धालु तथा धर्मप्रेमी महानुभावलाई महोत्सवमा सहभागी भई भगवान शिवको पूजा–आराधना, रुद्राभिषेक तथा शिव महापुराण श्रवण गरी धार्मिक पुण्य लाभ लिन अनुरोध गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button